आज महिला हिंसा उन्मूलन दिवस, विश्वभर प्रत्येक १० मिनेटमा एक महिला तथा बालिकाको हत्या
काठमाडौँ । आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस विश्वभर विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरी मनाइँदैछ। महिला तथा बालिकामाथि हुने हिंसा मानव अधिकार उल्लङ्घनको गम्भीर स्वरूपका रूपमा रहेको भन्दै यसको अन्त्यका लागि कानुनी व्यवस्था, न्यायमा पहुँच र जनचेतना अभिवृद्धिमा जोड दिइँदै आएको छ।
यसैबीच, विश्वभर प्रत्येक १० मिनेटमा एक महिला वा बालिकाको आफ्नै घनिष्ठ साथी वा परिवारका सदस्यबाट हत्या हुने गरेको तथ्य सार्वजनिक भएको छ। संयुक्त राष्ट्रसङ्घीय लागुऔषध तथा अपराध कार्यालय र राष्ट्रसङ्घीय महिला निकायले सार्वजनिक गरेको प्रतिवेदनअनुसार सन् २०२४ मा विश्वभर करिब ५० हजार महिला तथा बालिकाको आफ्नै घनिष्ठ साथी वा परिवारका सदस्यबाट हत्या भएको थियो। यो सङ्ख्या दैनिक औसत १३७ हो।
प्रतिवेदनले महिला तथा बालिकामाथि हुने हिंसा लामो समयदेखिको दुर्व्यवहार, धम्की, नियन्त्रण र असमान शक्ति सम्बन्धसँग जोडिने गरेको उल्लेख गरेको छ। महिला हिंसाविरुद्धको दिवस सन् १९८१ देखि नोभेम्बर २५ मा मनाउन थालिएको हो। सन् १९६० नोभेम्बर २५ मा डोमिनिकन गणतन्त्रका तत्कालीन शासक राफेल त्रुजिलोको आदेशमा राजनीतिक गतिविधिमा संलग्न मिराबल दिदीबहिनीको हत्या गरिएको घटनाको स्मरणमा यो दिन छनोट गरिएको हो।
संयुक्त राष्ट्रसङ्घले सन् १९९९ मा यस दिनलाई औपचारिक मान्यता दिएको थियो। यसै अवसरमा आजदेखि डिसेम्बर १० अर्थात् अन्तर्राष्ट्रिय मानव अधिकार दिवससम्म लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान पनि सुरु हुँदैछ। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले महिला तथा बालिकामाथिको हिंसा अन्त्य गर्न न्याय सुनिश्चित गर्न र रोकथामका प्रयास तीव्र बनाउन सबै देशलाई आह्वान गर्नुभएको छ। उहाँले हिंसापीडितलाई कानुनी सहायता, स्वास्थ्य सेवा, मनोसामाजिक परामर्श र सुरक्षित आश्रयको व्यवस्था गर्न तथा हिंसासम्बन्धी कानुन प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारहरूलाई आग्रह गर्नुभएको छ।

