आज देशभर सामान्य बदली, मनसुनको प्रभाव कमजोर

काठमाडौँ, ९ साउन — हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ। आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ।

बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षासमेत हुनसक्ने महाशाखाको अनुमान छ।

त्यसैगरी, आज राति कोशी प्रदेशलगायत पहाडी भू–भागमा साधारणतया बदली रही, बाँकी भू–भागमा आंशिक बदली रहनेछ। कोशी प्रदेशका केही र अन्य प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

साथै, कोशी प्रदेशको तराई तथा मधेस प्रदेशका केही स्थानहरूमा हावाहुरी चल्न सक्ने सम्भावना पनि महाशाखाले जनाएको छ। मौसमसम्बन्धी थप जानकारीका लागि नेपाल जल तथा मौसम पूर्वानुमान महाशाखाको वेबसाइट वा नजिकको मौसम केन्द्रमा सम्पर्क गर्न अनुरोध गरिन्छ।

Facebook Comments Box