आज गुरु नानकको जन्मजयन्ती मनाइँदै
काठमाडौँ । शिख धर्मका प्रवर्तक गुरु नानकको जन्मजयन्ती आज विभिन्न धार्मिक तथा सामाजिक कार्यक्रम आयोजना गरी मनाइँदैछ। हरेक वर्ष कात्तिक शुक्ल पूर्णिमाका दिन शिख धर्मावलम्बीले गुरु नानकको जन्मजयन्ती मनाउने परम्परा छ। यस अवसरमा विभिन्न स्थानका गुरुद्वारामा विशेष पूजाआराधना, धार्मिक प्रवचन तथा सामूहिक भोजन कार्यक्रम आयोजना गरिएका छन्। गुरु नानकले ईश्वर एक र सर्वशक्तिमान् रहेको तथा सबै मानिस समान भएको सन्देश दिनुभएको थियो। उहाँले मानवता, समानता र आपसी सद्भावलाई विशेष महत्व दिनुभएको थियो।
सन् १४६९ अप्रिल १५ मा हाल पाकिस्तानको पञ्जाबस्थित ननकाना साहिबमा जन्मनुभएका गुरु नानक शिख धर्मका संस्थापक तथा पहिलो गुरु हुनुहुन्छ। उहाँलाई अनुयायीले बाबा नानक र नानकशाहका नामले समेत सम्बोधन गर्ने गर्छन्। गुरु नानकद्वारा रचित ‘जपुजी साहिब’ शिख धर्मको महत्वपूर्ण धार्मिक ग्रन्थका रूपमा परिचित छ। शिख धर्मावलम्बीले उक्त ग्रन्थको नियमित पाठ गर्ने परम्परा रहेको छ।

