इजरायली आक्रमणमा हमासका आन्तरिक सुरक्षा प्रमुख नइम अबु नाहल मारिए

काठमाडौं । गाजामा हमासको आन्तरिक सुरक्षा एजेन्सीका प्रमुख नइम अबु नाहल इजरायली हवाई आक्रमणमा मारिएका छन्। गाजामा हमासद्वारा सञ्चालित गृह मन्त्रालयका अनुसार गाजा सहरको पश्चिमी क्षेत्रमा गरिएको हवाई आक्रमणमा ५० वर्षीय नाहललाई लक्षित गरिएको थियो।

गत सेप्टेम्बरमा उक्त पदमा नियुक्त भएका नाहलका पूर्ववर्तीलाई इजरायली सेनाको विशेष बलले गरेको कारबाहीका क्रममा पक्राउ गरेको थियो। त्यसपछि नाहललाई उक्त जिम्मेवारी दिइएको थियो। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र रक्षामन्त्री इजरायल काट्जले पनि सैन्य कारबाहीमा नाहल मारिएको पुष्टि गरेका छन्।

यसैबीच, मंगलबार गाजामा भएका अन्य दुई इजरायली हवाई आक्रमणमा थप छ जनाको मृत्यु भएको प्यालेस्टिनी सहायताकर्मी र स्वास्थ्य अधिकारीहरूले बताएका छन्। अधिकारीहरूका अनुसार गाजा सहरको दक्षिणमा रहेको वादी गाजा क्षेत्रमा भएको आक्रमणमा तीन जनाको मृत्यु भएको छ।

त्यस्तै, खान युनिसको पश्चिममा अल–मवासी क्षेत्रस्थित प्रहरी चौकीमा भएको अर्को आक्रमणमा दुई प्रहरीसहित तीन जनाको ज्यान गएको छ। गाजाको गृह मन्त्रालयअन्तर्गतको प्रहरीले प्रहरी संस्थालाई लक्षित गरी क्षेत्रमा अराजकता फैलाउने उद्देश्यले आक्रमण गरिएको आरोप लगाएको छ। तर, इजरायली सेनाले उक्त क्षेत्रमा आतंकवादीहरूलाई लक्षित गरी कारबाही गरेको जनाएको छ।

Facebook Comments Box