काठमाडौँ उपत्यकामा रात्रिकालीन साझा बस सेवा ६ रुटमा विस्तार
काठमाडौँ । काठमाडौँ उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवालाई विस्तार गर्दै साझा यातायातले शनिबारदेखि ६ वटा रुटमा २८ वटा विद्युतीय बस सञ्चालनमा ल्याएको छ । संविधान दिवसको अवसर पारेर साझा यातायातले यसअघि सञ्चालन हुँदै आएको रात्रिकालीन सेवालाई चार गुणाले विस्तार गरेको हो । यसअघि सीमित रुटमा सञ्चालन हुँदै आएको सेवा अब थप चार रुटमा विस्तार गरिएको छ ।
काठमाडौँ महानगरपालिका र साझा यातायातको सहकार्यमा २०८३ वैशाख १ गतेदेखि रात्रिकालीन सार्वजनिक यातायात सेवा सञ्चालन हुँदै आएको थियो । सेवाको प्रभावकारिता मूल्याङ्कन तथा विस्तारका लागि महानगरपालिकाले विशेष कार्यदल गठन गरेको थियो ।
सुरुवाती तीन महिना वैशाखदेखि असारसम्म सातवटा विद्युतीय बसमार्फत दुईवटा रुटमा मात्रै रात्रिकालीन सेवा सञ्चालन गरिएको थियो । उक्त सेवाको प्रभाव र विस्तारबारे अध्ययन गर्न गठित कार्यदलले हालै आफ्नो प्रतिवेदन कार्यवाहक प्रमुख सुनिता डंगोलसमक्ष बुझाएको थियो ।
महानगरपालिकाका ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठको संयोजकत्वमा गठित कार्यदलमा वरिष्ठ लेखा अधिकृत विपुल तिवारी, सिभिल इञ्जिनियर आँचल आचार्य, साझा यातायातका सहायक प्रबन्धक इञ्जिनियर जनक रिसाल र यातायात व्यवस्थापन अधिकृत शंकर बस्याल सदस्य थिए । अध्ययन समितिको सिफारिसका आधारमा रात्रिकालीन सार्वजनिक यातायात सेवाको दायरा विस्तार गरिएको साझा यातायातले जनाएको छ ।

