कांग्रेसको वडा अधिवेशनबाट ८५ हजारभन्दा बढी पदाधिकारी र सदस्य निर्वाचित हुने

काठमाडौँ । नेपाली कांग्रेसको वडा अधिवेशनबाट देशभर ६ हजार ७ सय ४३ वडामा ८५ हजार ४ सय ३४ जना पदाधिकारी तथा सदस्य निर्वाचित हुने भएका छन् । कांग्रेसका अनुसार ४ सय ६० गाउँपालिकाका ३ हजार २ सय १५ वडा, २ सय ७६ नगरपालिकाका ३ हजार १ सय २० वडा, ११ उपमहानगरपालिकाका २ सय ३४ वडा र ६ महानगरपालिकाका १ सय ७४ वडा गरी देशभर ६ हजार ७ सय ४३ वडा छन् ।

पार्टीको विधानअनुसार गाउँपालिकाका प्रत्येक वडामा पाँच पदाधिकारी र सात सदस्य गरी १२ जना तथा नगरपालिकाका प्रत्येक वडामा पाँच पदाधिकारी र आठ सदस्य गरी १३ जना निर्वाचित हुनेछन् । यसअनुसार गाउँपालिकाका वडाबाट ३८ हजार ५ सय ८० र नगरपालिकाका वडाबाट ४० हजार ५ सय ६० जना निर्वाचित हुनेछन् ।

त्यस्तै, उपमहानगरपालिकाका २ सय ३४ वडाबाट पाँच पदाधिकारी र १० सदस्य गरी ३ हजार ५ सय १० जना तथा महानगरपालिकाका १ सय ७४ वडाबाट पाँच पदाधिकारी र ११ सदस्य गरी २ हजार ७ सय ८४ जना निर्वाचित हुने कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो ।

कुल निर्वाचित हुनेमध्ये ३३ हजार ७ सय १५ जना पदाधिकारी र ५१ हजार ७ सय १९ जना सदस्य रहनेछन् । वडा अधिवेशनबाट निर्वाचित हुने क्षेत्रीय प्रतिनिधिको संख्या भने सम्बन्धित वडाको क्रियाशील सदस्य संख्याका आधारमा फरक हुने कांग्रेसले जनाएको छ । एउटा वडाबाट २३ देखि ७५ जनासम्म क्षेत्रीय प्रतिनिधि चयन हुनेछन् ।

प्रवक्ता चालिसेका अनुसार वडा अधिवेशनका लागि सबै वडामा निर्वाचन अधिकृत पुगिसकेका छन् । रसुवा र नुवाकोटको निर्वाचन क्षेत्र नम्बर १ बाहेक अन्य स्थानमा वडा अधिवेशनको तयारी भइरहेको छ । बाढी प्रभावित क्षेत्रमा भने स्थानीय कार्यकर्तासँगको समन्वयमा अधिवेशन केही दिन ढिला हुन सक्ने उहाँले बताउनुभयो ।

अधिवेशनमा असहयोग गरेको भन्दै कांग्रेसले डोटी, कैलाली, कञ्चनपुर र बागलुङका जिल्ला सभापतिहरूको स्थानमा अधिवेशन सञ्चालनको जिम्मेवारी अन्य व्यक्तिलाई तोकेको छ । सम्बन्धित सभापति पदमै रहने भए पनि अधिवेशन सञ्चालनका लागि अर्को व्यक्तिलाई जिम्मेवारी दिइएको प्रवक्ता चालिसेले बताउनुभयो । वडा अधिवेशनका क्रममा सम्बन्धित वडा सभापतिले समेत असहयोग गरेमा जिल्ला सभापतिले तत्काल अर्को व्यक्तिलाई जिम्मेवारी दिन सक्ने अधिकार केन्द्रले दिएको उहाँले जानकारी दिनुभयो ।

Facebook Comments Box