संविधानको पूर्ण पालना र जबाफदेही प्रशासन आजको आवश्यकता : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण पालना र जबाफदेही प्रशासन आजको आवश्यकता रहेको बताएका छन् । संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले संविधानले निर्दिष्ट गरेका व्यवस्थाको पूर्ण परिपालनाबाट सुदृढ, सभ्य र जबाफदेही प्रशासन निर्माण गर्नुपर्ने बताएका हुन् ।

राष्ट्रपति पौडेलले आम नागरिकलाई विधिको शासन प्रत्याभूत गर्न तथा संविधानबाट प्राप्त अवसर र उपलब्धिको संरक्षण र संस्थागत गर्नुपर्नेमा जोड दिएका छन् । सुशासन र समृद्धितर्फ अघि बढ्न सम्पूर्ण नेपालीबीच साझा सहमति आवश्यक रहेको उनको भनाइ छ ।

उनले संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्ने बताएका छन् । संविधानले प्रत्याभूत गरेका सेवा–सुविधामा सबै नागरिकको समान पहुँच स्थापित गर्नुपर्नेमा पनि राष्ट्रपति पौडेलले जोड दिएका छन् । संविधान दिवसले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामार्फत दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न सबैलाई एकजुट हुन प्रेरणा मिलोस् भन्ने कामना राष्ट्रपति पौडेलले गरेका छन् ।

Facebook Comments Box