बाढीपहिरोले मुख्य सडक प्रभावित, विभिन्न राजमार्ग अवरुद्ध
काठमाडौं । अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न भागमा मुख्य सडक तथा राजमार्ग प्रभावित भएका छन्। केही सडक पूर्ण रूपमा अवरुद्ध छन् भने केही स्थानमा एकतर्फी यातायात सञ्चालन भइरहेको छ। काठमाडौं उपत्यका जोड्ने काठमाडौं–धादिङ सडकखण्डअन्तर्गत चन्द्रागिरि नगरपालिका–२ चिसापानीमा पहिरोका कारण सडक एकतर्फी सञ्चालनमा छ।
मुग्लिन–नारायणगढ सडकखण्डको तुइनखोलामा भने सडक मर्मतका कारण सवारी चाप हेरी आलोपालो गरी यातायात सञ्चालन गरिएको छ। पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ–७ कृष्णभीरमा पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध छ। सोही राजमार्गको ज्वाङखोला र गजुरी–२ चालिसेमा भने एकतर्फी यातायात सञ्चालन भइरहेको छ।
रसुवाको उत्तरगया तथा मुख्य राजमार्गका विभिन्न स्थानमा बाढीका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। नुवाकोटको टोखा–छहरे सडकखण्डमा बाढीपहिरोको जोखिमका कारण राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ।
कर्णाली प्रदेशका विभिन्न मुख्य सडकसमेत पहिरोका कारण ठप्प छन्। मुगुको मुगु–गमगढी, कालिकोटको कर्णाली राजमार्गअन्तर्गत गग्ने खोला, सल्यानको राप्ती राजमार्गअन्तर्गत चोरखोला र सुर्खेतको बराहतालमा सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।लुम्बिनी प्रदेशको रोल्पास्थित सहिद राजमार्गको भालखोरमा पनि पहिरोका कारण यातायात पूर्ण रूपमा बन्द छ।
काभ्रेको खुर्कोट–नेपालथोक–कटुञ्जेबेँसी सडकखण्डमा बाढीको जोखिमलाई ध्यानमा राख्दै १० टनभन्दा बढी क्षमताका मालवाहक सवारीलाई बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालनमा रोक लगाइएको छ। अन्य सवारी साधन भने सडकको अवस्था हेरेर बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गर्न दिइने प्रहरीले जनाएको छ। प्रहरीले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न तथा यात्राका क्रममा उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

