खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन विभागको पहल
काठमाडौँ, २८ माघ – खाना पकाउने ग्यासको आपूर्तिमा देखिएको समस्या समाधान गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ढुवानी व्यवस्थापनलाई प्रभावकारी बनाउने गरी आवश्यक समन्वय र नियमन गर्ने भएको छ।पछिल्ला दिनमा ग्यास वितरणमा समस्या देखिँदा उपभोक्ताले सास्ती बेहोर्नु परेको भन्दै विभागले नेपाल आयल निगमलाई ढुवानी व्यवस्थापन प्रभावकारी बनाउन आवश्यक कदम चाल्न आग्रह गरेको छ।
साथै, ठूला ग्यास उत्पादन कम्पनीहरूलाई पनि आवश्यक निर्देशन दिइएको विभागले जनाएको छ। काठमाडौँ उपत्यकामा रहेका ग्यास बोटलिङ उद्योगहरूको अनुगमनका क्रममा विभागले उपभोक्ताको मागअनुसार उत्पादन र वितरण बढाउन निर्देशन दिएको छ। उद्योगहरूले पूर्ण क्षमतामा ग्यास आपूर्ति गरी उत्पादन क्षमता बढाउनुपर्ने विभागको स्पष्ट निर्देशन छ।
एलपी ग्यास वितरण गर्ने डिलर, रिटेलर तथा सप्लायर्स कम्पनीहरूले उपभोक्ताको मागको प्रभावकारी अभिलेख राखी ग्यासको अनावश्यक सञ्चय नहुने गरी समानुपातिक वितरण गर्नुपर्ने पनि विभागले जनाएको छ। यसैगरी, उपभोक्ता तथा व्यावसायिक प्रतिष्ठानलाई अनावश्यक सञ्चय नगरी आवश्यक परिमाणमा मात्र ग्यास खरिद गर्न विभागले आग्रह गरेको छ।
विभागले बजारमा ग्यासको उपलब्धता, भण्डारण तथा वितरणको अवस्थाबारे उद्योग, ठूला सप्लायर्स र साना डिलर तहसम्म आपूर्ति शृङ्खलाको अनुगमन तथा विश्लेषण गरिएको स्पष्ट पारेको छ।

