निर्वाचन आयोगले मंसिर १७ गतेदेखि आफू बसेको ठाउँबाट नै मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गर्ने

काठमाडौँ, १५ मङ्सिर – निर्वाचन आयोगले मंसिर १७ गतेदेखि आफू बसेको ठाउँबाट नै मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गर्ने भएको छ ।

आज काठमाडौंमा निर्वाचन पर्यवेक्षण समिति नेपालले आयोजना गरेको निर्वाचनसँग सम्बन्धित समसामयिक विषयहरुमा गरिएको अन्तरक्रियामा निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले अब आफू बसेको ठाउँबाट नै मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था मिलाएको बताउनु भयो ।

मतदाता नामावली संकलन अभियानका लागि गाउँपालिका र नगरपालिकाको केन्द्रमा जनशक्ति पठाउने कार्य भइरहेको उहाँले बताउनु भयो । ‘अब आयोगले जो जहाँ छ त्यहीँबाट मतदाता नामावलीमा नाम दर्ता गराउन पाउने व्यवस्था मिलाएको छ ।

दर्ता आफू बसेको ठाउँबाट गरिए पनि त्यो रेकर्ड सम्बन्धित नगर, गाउँ, वडामा आयोगले पठाइदिन्छ ।’ उहाँले अब ७७ वटा जिल्ला निर्वाचन कार्यालय, ७७ वटा जिल्ला प्रशासन कार्यालय र सबै ईलाका प्रशासन कार्यालयबाट जुनसुकै समयमा पनि मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गरिएको बताउनु भयो ।

Facebook Comments Box