पूर्वसतर्कताले नुवाकोट र धादिङमा ठूलो मानवीय क्षति हुनबाट जोगियो

नुवाकोट । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट नुवाकोटको विदुर नगरपालिका क्षेत्रसमेत प्रभावित भएको छ। तर, पूर्वसतर्कताका कारण ठूलो मानवीय क्षति हुनबाट जोगिएको स्थानीय प्रशासनले जनाएको छ। सशस्त्र प्रहरी १ नम्बर गुल्म, ढुङ्गेबजारका प्रहरी सहायक निरीक्षक रूपेश रायका अनुसार बाढी आउनुअघि जोखिम क्षेत्रका बासिन्दालाई माइकिङमार्फत सचेत गराइएको थियो।

उहाँका अनुसार सूचना दिँदै गर्दा त्रिशूली र ढुङ्गेबजार जोड्ने दुई वटा पुल बाढीले बगाएको थियो। केही सेकेन्ड मात्र ढिला भएको भए उद्धारमा खटिएका सुरक्षाकर्मीसमेत बाढीमा बग्ने अवस्था रहेको उहाँले बताउनुभयो। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार जिल्ला प्रशासन कार्यालय रसुवाबाट बिहान ८ बजेर ५५ मिनेटमा भोटेकोशी नदीमा बाढी आएको सूचना प्राप्त भएको थियो।

सूचना प्राप्त भएलगत्तै प्राधिकरणले सम्बन्धित निकायलाई जानकारी गराउँदै तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरेको थियो। तर सूचना तल्लो क्षेत्रमा पुग्दा बाढी बेत्रावती आसपास पुगिसकेको विदुर नगरपालिकाका उपप्रमुख प्रभा बोगटीले बताउनुभएको छ।

भोटेकोशी बाढीबाट विदुर नगरपालिकाका वडा नम्बर ७, १०, ९, १, ४ र ५ प्रभावित भएका छन्। प्रभावित क्षेत्रको जनसङ्ख्या करिब पाँच हजार रहेको नगरपालिकाले जनाएको छ। उपप्रमुख बोगटीका अनुसार करिब तीन सय जना बेपत्ता भएको प्रारम्भिक जानकारी छ। अधिकांश बेपत्ता हुनेमा वडा नम्बर १० को बेत्रावती र भैँसेबजार तथा वडा नम्बर ७ को सोलेबजार क्षेत्रका रहेका छन्।

यस्तै, वडा नम्बर ९ को सिलट्याङ्की, वडा नम्बर १ को त्रिशूली र ढुङ्गेबजार, वडा नम्बर ४ को सिमचौर तथा वडा नम्बर ५ को देवीघाटका बस्ती समयमै खाली गराइएकाले ठूलो मानवीय क्षति हुनबाट जोगिएको उहाँले बताउनुभयो। बाढी प्रभावित क्षेत्रबाट केही व्यक्ति बेपत्ता भएको तथा केहीलाई बाढीले बगाएको र घरमा पुरिएको सूचना नेपाली सेना तथा स्थानीय प्रशासनमा प्राप्त भएको छ।

उद्धार गरी नुवाकोटको विदुर–५ स्थित जिल्ला आयुर्वेद अस्पतालमा ल्याइएका ७५ वर्षीय लुमडीप्रसाद नेपालले खाना खान बसेका बेला बाढी आएको थाहा पाएर ज्यान जोगाएको बताउनुभयो। उता, रसुवामा भने बाढीको प्रभाव अत्यधिक परेको छ। स्याफ्रुबेँसी, धुन्चे र टिमुरे क्षेत्रमा ठूलो मानवीय क्षति भएको प्रारम्भिक आकलन गरिएको छ। सयौँ व्यक्ति बेपत्ता रहेको र उद्धार कार्य जारी रहेको जनाइएको छ।

रसुवाबाट नुवाकोट हुँदै बाढी तल्लो तटीय क्षेत्रमा पुग्दा केही समय पूर्वसतर्कताका लागि उपलब्ध भएकाले नुवाकोट र धादिङमा थप मानवीय क्षति हुनबाट जोगिएको अधिकारीहरूको भनाइ छ। धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमका अनुसार गजुरी र गल्छी गाउँपालिका बढी प्रभावित भएका छन् भने नीलकण्ठ र सिद्धलेक गाउँपालिका तुलनात्मक रूपमा कम प्रभावित छन्।

उहाँका अनुसार नेपाली सेनाबाट बिहान करिब ९ बजे बाढीबारे सूचना प्राप्त भएपछि सुरक्षा संयन्त्रलाई परिचालन गरी जोखिममा रहेका बस्ती खाली गराइएको थियो। करिब एक सय ५० घरधुरी डुबानमा परे पनि बाढी पस्नुअघि नै घर खाली गराइएकाले हालसम्म मानवीय क्षतिको विवरण प्राप्त नभएको उहाँले बताउनुभयो।

यसैबीच, धादिङबाट गोसाइँकुण्डलगायत रसुवा र नुवाकोटमा रहेका करिब १२७ जना अझै सम्पर्कविहीन रहेको बताइएको छ। भौगर्भिक इन्जिनियरसमेत रहनुभएका त्रिभुवन विश्वविद्यालयका सेवानिवृत्त प्राध्यापक डा. तारानिधि भट्टराईले छोटो समयको पूर्वसतर्कता र उद्धार योजनाका कारण ठूलो मानवीय क्षति रोक्न सहयोग पुगेको बताउनुभएको छ।

उहाँका अनुसार बाढीको बहाव नदीको सीमामा मात्र सीमित नभई करिब सात सय मिटर वरपरसम्म फैलिएको देखिएको छ। बाढीको दायरामा परेका घर, बस्ती र मानिस प्रभावित भएका छन्। प्राध्यापक भट्टराईले आगामी दिनमा पूर्वसतर्कतासँगै प्रभावकारी पूर्वसूचना प्रणाली, सम्बन्धित निकायबीच सूचना साझेदारी र सुरक्षित बसोबासका मापदण्डमा सुधार गर्न आवश्यक रहेको बताउनुभएको छ।

उहाँले नदी किनारमा बस्ती तथा खेती गर्ने र डाँडाको टुप्पोमा मात्र बसोबास गर्ने परम्परागत अभ्यासको पुनरावलोकन गर्दै विपद् जोखिमलाई ध्यानमा राखेर सुरक्षित बस्ती विकासमा ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ।

Facebook Comments Box