अपर म्याग्दी–१ आयोजनाको ‘मकिङ’ले स्यानखण्डमा पहिरो र नदी कटानको समस्या

म्याग्दी, २६ असार – म्याग्दीको धवलागिरि गाउँपालिका–७ स्यानखण्ड क्षेत्रमा अपर म्याग्दी–१ जलविद्युत् आयोजनाको निर्माणस्थलबाट निकालिएको माटो तथा सुरुङबाट निस्किएको ‘मकिङ’ (गेगर) नदी किनारमा थुपारिँदा म्याग्दी नदीको कटान र पहिरोको समस्या बढेको स्थानीयवासीले गुनासो गरेका छन्।

५३.५ मेगावाट क्षमताको उक्त आयोजनाको विद्युत्गृह निर्माणस्थलबाट निकालिएको माटो नदी किनारमा व्यवस्थापन गर्दा म्याग्दी नदीले धार परिवर्तन गरी स्यानखण्डस्थित बगैँचा र खेतीयोग्य जमिनमा क्षति पुर्‍याएको स्थानीयको आरोप छ। आयोजनाको विद्युत्गृह निर्माणस्थल भने म्याग्दी नदीको दायाँ किनारस्थित मालिका गाउँपालिका–७ को भूभागमा पर्छ।

स्थानीय जग्गाधनी गजबहादुर थापाका अनुसार आयोजनाले पूर्वसहमति र अनुमति बिना नदी किनारमा माटो तथा मकिङ थुपारेपछि नदीको बहाव परिवर्तन भई करिब १८ रोपनी जग्गा कटान र पहिरोको जोखिममा परेको छ। उहाँले केराको बगैँचा र खेतीयोग्य जमिनमा ठूलो क्षति पुगेको तथा पटक–पटक आग्रह गर्दा पनि आयोजनाले बेवास्ता गरेको गुनासो गर्नुभयो।

स्थानीयका अनुसार जगबहादुर र यामबहादुर थापाको निजी जग्गामा रहेको केराखेती र उत्तिसको वन नदी कटानले बगाइसकेको छ। भारवाङका थमन जुग्जालीले वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदनमा उल्लेख गरिएका माटो तथा मकिङको सुरक्षित व्यवस्थापनसम्बन्धी प्रावधान पालना नभएको आरोप लगाउनुभयो। उहाँका अनुसार सुरुङबाट निस्किएको बारुद मिसिएको मकिङका कारण नदीको जलचर, विशेषगरी माछामा समेत असर परेको छ।

स्थानीय दलबहादुर जुग्जालीले सुरुङ र पहुँचमार्गबाट आउने लेदोयुक्त पानी खेतबारीमा पस्दा खेतीबाली नष्ट भएको बताउँदै वातावरणीय तथा सामाजिक असर न्यूनीकरण, सडक स्तरोन्नति, धुलो र हिलो नियन्त्रणलगायतका विषयमा पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको गुनासो गर्नुभयो।

यता आयोजनाका प्रमुख ज्योतिकुमार केसीले आयोजनाको निर्माणका कारण केही असर परेको स्वीकार गर्दै कटान प्रभावित क्षेत्रको संरक्षण र क्षतिग्रस्त जग्गाका विषयमा जग्गाधनीसँग छलफल तथा सहमतिको प्रयास भइरहेको बताउनुभयो। उहाँका अनुसार सबै क्षति आयोजनाकै कारण भएको नभए पनि व्यक्तिगत र सार्वजनिक सम्पत्तिमा थप क्षति हुन नदिन आयोजना संवेदनशील रहेको छ।

प्रवर्द्धक कम्पनी अपर म्याग्दी हाइड्रोपावरका वरिष्ठ सामाजिक सुरक्षा प्रबन्धक सुरेश घलेले निर्माण कम्पनीलाई वातावरणीय प्रभाव न्यूनीकरणका उपाय अवलम्बन गर्न निर्देशन दिइएको र स्थानीय तहको समन्वयमा सामाजिक उत्तरदायित्वअन्तर्गत रु ६ करोड २० लाख बराबरका कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो। उहाँले म्याग्दी नदीमा अन्य जलविद्युत् आयोजना पनि सञ्चालनमा रहेकाले बाढी तथा कटानको सम्पूर्ण जिम्मेवारी एउटै आयोजनामाथि लगाउन नमिल्ने धारणा राख्नुभयो।

विसं २०८३ फागुनभित्र विद्युत् उत्पादन गर्ने लक्ष्यसहित निर्माणाधीन आयोजनाको लागत रु ११ अर्ब २३ करोड २७ लाख रहेको छ। धवलागिरि गाउँपालिका–४ खाम्लामा बाँध निर्माण, सुरुङ तथा अन्य संरचनाको काम जारी छ। आयोजनाबाट वार्षिक औसत ३१५.१ गिगावाट घण्टा विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने लक्ष्य राखिएको छ।

Facebook Comments Box