आज पनि देशका पहाडी भेगमा वर्षा हुने सम्भावना
काठमाडौं, ११ चैत – आज पनि देशका पहाडी भेगमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनएको छ। महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार पहाडी भेगमा पनि आज पानी पर्ने सबैभन्दा बढी सम्भावना सुदूरपश्चिम र कर्णाली प्रदेशमा छ।
‘सुदूरपश्चिम र कर्णाली प्रदेशमा बिहानैदेखि वर्षा सुरु भइसकेको छ, यो प्रणाली पूर्व सर्ने क्रममा छ, गण्डकी प्रदेशसम्म असर गर्न सक्छ’, उनले भने, ‘साथै बाँकी प्रदेशमा चाहिँ पहाडी भेगका एक दुई स्थानमा वर्षा हुने थोरै सम्भावना छ।’ मौसमविद् श्रेष्ठका अनुसार अपराह्नपछि साँझपख काठमाडौँ उपत्यकामा पनि क्षणिक वर्षाको सम्भावना छ। वर्षा मेघगर्जन/चट्याङसहित हुने मौसम महाशाखाले जनाएको छ।
महाशाखाको अनुसार राति कोशी र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। यसबाहेक राति देशका पहाडी भेगमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

