मिथिलाको सांस्कृतिक पर्व झुलनोत्सव सम्पन्न

महोत्तरी । मिथिला क्षेत्रमा साउन शुक्लपक्षमा मनाइने सांस्कृतिक पर्व झुलनोत्सव सम्पन्न भएको छ। साउन शुक्ल तृतीयाका दिन सुरु भएको झुला पर्व साउन पूर्णिमाको मध्यरातपछि झुलाको डोरी छिनाएर सम्पन्न गरिएको हो। १३ दिनसम्म मनाइने यस पर्वमा परम्पराअनुसार भगवान् विष्णु–लक्ष्मीका प्रतिमालाई विशेष झुला अर्थात् कलात्मक पिङमा राखेर झुलाउने गरिन्छ। राम–सीता तथा कृष्ण–राधाका प्रतिमालाई समेत झुलामा राखेर श्रद्धालुले झुला गीत गाउँदै झुलाउने परम्परा रहेको छ।

महोत्तरीको मटिहानीस्थित लक्ष्मीनारायण मठका उत्तराधिकारी महन्थ डा. रवीन्द्रदास वैष्णवका अनुसार पूर्णिमाको मध्यरातपछि झुलाको डोरी छिनाएर पर्व सम्पन्न गर्ने परम्परा छ। उहाँका अनुसार झुलनोत्सव वैष्णव परम्पराका मठमन्दिरमा मनाइने मिथिलाको पुरानो सांस्कृतिक परम्परा हो।

मिथिलामा जनकपुरधामस्थित जानकी मन्दिर तथा महोत्तरीको मटिहानीस्थित लक्ष्मीनारायण मठ र लक्ष्मीनारायण मन्दिर परिसरको झुलाघरमा मनाइने झुलनोत्सव विशेष प्रसिद्ध छ। झुलनोत्सवका अवसरमा वरपरका विभिन्न मठमन्दिरबाट विष्णु–लक्ष्मी तथा राम–सीता र राधा–कृष्णका प्रतिमा ल्याएर मुख्य मठमन्दिरमा सामूहिक रूपमा उत्सव मनाउने चलन छ।

मटिहानीको झुलाघरमा नेपाल तथा भारतका विभिन्न मठमन्दिरबाट देवदेवीका प्रतिमा ल्याएर विशेष पूजाअर्चना तथा झुलाउने कार्यक्रम गरिन्छ। पर्वका क्रममा साधुसन्त, श्रद्धालु तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहने गर्छ। मल्हार र कजरी गीतको लयमा गाउँदै तथा नाच्दै मनाइने झुलनोत्सव मिथिलाको विशिष्ट लोकपरम्परा मानिन्छ।

जनकपुरस्थित जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवका अनुसार मिथिलामा झुलनोत्सवको परम्परा विक्रम संवत् १७८७ तिर सन्त सुरकिशोर दासले सुरु गर्नुभएको विश्वास गरिन्छ। मिथिलामा साउन शुक्लपक्ष धान रोपाइँ सकिएपछिको समय भएकाले पनि यस पर्वको विशेष सांस्कृतिक महत्व छ। किसानले धान राम्रो होस् र समयमै पानी परिरहोस् भन्ने कामना गर्ने भएकाले यो समयलाई उल्लासको समयका रूपमा लिइन्छ।

धानको रोपो हरियो भएर लहलहाएको समयमा मैथिल समुदायले आफ्ना इष्टदेव राम, सीता, कृष्ण र राधासँग खेलेको अनुभूति गर्ने उद्देश्यले झुला पर्व मनाउने गरेको संस्कृतिविद्हरूको भनाइ छ। झुलनोत्सवको परम्परा भगवान् रामको जन्मभूमि अयोध्या र भगवान् कृष्णको बाललीलास्थल वृन्दावनको सांस्कृतिक परम्पराबाट प्रभावित भएर मिथिलामा आएको विश्वास पनि गरिन्छ।

जनकपुरधाम सीताको माइतीका रूपमा परिचित भएकाले मैथिल परम्परामा ज्वाइँका रूपमा मानिने भगवान् रामलाई प्रसन्न पार्ने भावनासहित राम–सीतालाई झुलाउने परम्परा बसेको बताइन्छ। जनकपुरधामस्थित जानकी मन्दिरबाट करिब पाँच किलोमिटर उत्तरपश्चिममा रहेको मणिपर्वतमा साउन शुक्ल तृतीयाका दिन पूजा गरेपछि झुला पर्व सुरु गर्ने परम्परा पनि रहेको छ। झुलनोत्सव मिथिलाको मौलिक लोकपरम्परा, धार्मिक आस्था र सांस्कृतिक पहिचानसँग जोडिएको विशिष्ट पर्वका रूपमा रहँदै आएको संस्कृतिका जानकारहरू बताउँछन्।

Facebook Comments Box