बाढी–पहिरोका कारण विभिन्न राजमार्गमा यातायात प्रभावित

काठमाडौँ । बाढी तथा पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गमा यातायात प्रभावित भएको छ। नेपाल प्रहरीका अनुसार बागमती, कोशी, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न सडकखण्डमा बाढी र पहिरोका कारण आवागमनमा समस्या भएको हो।

बागमती प्रदेशमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीमा पहिरो जाँदा अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। यस्तै, रसुवाको त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडकखण्ड र नुवाकोटका विभिन्न मुख्य सडक पनि बाढीका कारण पूर्ण रूपमा बन्द रहेका छन्।

बाढीको जोखिमलाई ध्यानमा राख्दै काभ्रेको वीपी राजमार्ग र मकवानपुरको कान्तिलोकपथमा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। वीपी राजमार्गमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म तथा कान्तिलोकपथमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको हो।

नुवाकोटको टोखा–छहरे सडकखण्डमा पनि राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ। यस्तै, पृथ्वी राजमार्गअन्तर्गत धादिङका ज्वाङखोला, गल्छी र बैरेनीलगायतका स्थानमा बाढीका कारण सडक एकतर्फी रूपमा सञ्चालनमा रहेको छ।

कोशी प्रदेशको मेची राजमार्गअन्तर्गत इलामको राजदुवालीमा अविरल वर्षाका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। प्रहरीले उक्त क्षेत्रमा वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ। लुम्बिनी प्रदेशको रोल्पास्थित सहिद राजमार्ग पनि पहिरोका कारण अवरुद्ध भएको छ।

कर्णाली प्रदेशको रुकुम पश्चिममा पर्ने जाजरकोट–डोल्पा सडकखण्ड रिजेगाड खोलामा आएको बाढीका कारण पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ। यसैबीच, काठमाडौँ उपत्यकाको मुख्य प्रवेश मार्ग नागढुङ्गा–मुग्लिन सडक हाल सञ्चालनमा रहेको छ। तर धादिङको बैरेनी बजारको करिब एक किलोमिटर क्षेत्रमा भने सडक एकतर्फी मात्र सञ्चालनमा रहेको छ।

नेपाल प्रहरीले वर्षायाममा सडक तथा मौसमको अवस्था जोखिमपूर्ण हुनसक्ने भएकाले लामो दूरीको यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको पछिल्लो अवस्थाबारे जानकारी लिन र आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

Facebook Comments Box