सुरुङभित्र फसेका ३५० जनाको सेनाद्वारा उद्धार

काठमाडौँ, ११ भदौ – नेपाली सेनाले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका ३५० जनाको उद्धार गरेको छ। बाढीपछि सुरुङभित्र ठूलो सङ्ख्यामा मानिस फसेको खबर सार्वजनिक भएपछि उनीहरूको अवस्थाबारे चिन्ता बढेको थियो। चुनौतीपूर्ण परिस्थितिका बीच नेपाली सेनाले उद्धार अभियान सञ्चालन गरी ३५० जनालाई सुरक्षित स्थानमा ल्याएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सेनाका अनुसार सुरुङभित्र अझै १०० भन्दा बढी मानिस फसेको अनुमान गरिएको छ। उनीहरूको उद्धारका लागि पनि निरन्तर प्रयास भइरहेको जनाइएको छ। यसैबीच, नेपाली सेनाले बिहीबार रसुवाका विभिन्न बाढी प्रभावित क्षेत्रबाट स्थानीय बासिन्दा तथा मजदुर गरी कुल ८८३ जनाको उद्धार गरेको जनाएको छ।

रसुवाको भोटेकोशीमा आएको बाढीबाट जलविद्युत् आयोजना, सडक तथा अन्य भौतिक संरचनामा समेत ठूलो क्षति पुगेको छ। बाढीका कारण रसुवामा सञ्चालनमा रहेका तथा निर्माणाधीन विभिन्न जलविद्युत् आयोजना प्रभावित भएका छन्।

Facebook Comments Box