देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर अहिले मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा केही उत्तर र पूर्वतर्फ सरदर स्थान आसपास रहेको छ। हाल हिमाली र पहाडी भूभागमा सामान्यतया बदली तथा तराई क्षेत्रमा आंशिक बदली रहेको छ। कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा मधेस प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ भने पहाडी भूभागका धेरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ। यस्तै, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मधेस र कोशी प्रदेशका तराई भूभागका थोरै स्थानमा पनि चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग तथा लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान छ। आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
त्यस्तै, विभिन्न प्रदेशका पहाडी तथा तराई भूभागमा पनि चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ। रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग र लुम्बिनी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। महाशाखाले भारी वर्षाका कारण पहाडी तथा हिमाली क्षेत्रमा पहिरो र गेग्रान बहाव तथा नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

