देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ, १३ भदौ – अहिले देशभर मौसम आंशिकदेखि सामान्य बदली भएको छ भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् बिनु महर्जनका अनुसार दिउँसो पनि देशभर मौसम आंशिकदेखि सामानय बदली रहनेछ।
‘दिउँसो देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ’, मौसमविद् महर्जनले भनिन्, ‘लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।’ बागमती प्रदेशअन्तर्गत काठमाडौं उपत्यकामा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उनले बताइन्।
मौसम पूर्वानुमान महाशाखाले आज राति देशभर मौसम आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेकाले उक्त प्रदेशका भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम छ। साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन/यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

