कोशी, बागमती, गण्डकी र लुम्बिनीमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, १० भदौ – देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा अहिले सरदर स्थानको आसपास रहेको छ।
हाल हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहेको छ। कोशी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा पनि सामान्य बदली छ भने अन्य तराई क्षेत्रमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।
त्यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश पहाडी क्षेत्रमा तथा कर्णाली र सुदूरपश्चिमका केही पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। मधेससहित कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने जनाइएको छ।
दिउँसो कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका धेरै तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।
रातिको समयमा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश पहाडी भूभाग तथा कर्णाली र सुदूरपश्चिमका केही पहाडी क्षेत्रमा मध्यम वर्षाको सम्भावना छ। तराईका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ। कोशी प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका एकदुई स्थानमा राति भारी वर्षाको सम्भावना रहेको छ।
भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रानसहितको बाढी, डुबान, पहिरो र भूक्षयको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। वर्षाका कारण दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले मौसमसम्बन्धी सूचनामा अद्यावधिक रहन पनि महाशाखाले अनुरोध गरेको छ।

