प्रत्यक्ष कार्यकारीको ‘बटमलाइन’ पूरा नभएसम्म ढुङ्गाना समूह चुनावमा सहभागी नहुने
काठमाडौँ, १ कात्तिक — ‘जेनजी’ आन्दोलनका अगुवा मिराज ढुङ्गाना समूहले प्रत्यक्ष कार्यकारी प्रणालीको सुनिश्चितता नभएसम्म निर्वाचनमा सहभागी नहुने घोषणा गरेको छ।
नयाँ बानेश्वरमा आज आयोजित पत्रकार सम्मेलनमार्फत आफ्ना राजनीतिक एजेण्डा सार्वजनिक गर्दै ढुङ्गाना समूहले ‘जेनजी’ आन्दोलनका मागहरूलाई संस्थागत गर्न राजनीतिक दल गठन गर्ने तयारी भए पनि प्रत्यक्ष कार्यकारी शासन व्यवस्था र विदेशस्थित नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित हुनुपर्ने ‘बटमलाइन’ पूरा नहुँदासम्म चुनावी प्रक्रियामा नजाने स्पष्ट गरेको हो।
ढुङ्गानाले भ्रष्टाचार नियन्त्रणका लागि नागरिकस्तरमै छानबिन समिति गठन गर्नुपर्ने र आर्थिक रूपान्तरणका स्पष्ट नीति र दिशा तय गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले भन्नुभयो, “हामीले जेनजीको बलिदान खेर जान दिन्नौं, भ्रष्टाचार र असमानताविरुद्धको यो अभियान अब संस्थागत रूपमै अघि बढ्छ।”
उहाँका अनुसार आन्दोलनलाई दिशाहीन हुन नदिन राजनीतिक दल गठनको निर्णय गरिएको हो र हाल पार्टीको नामका लागि सुझाव संकलनको प्रक्रिया चलिरहेको छ।
ढुङ्गानाले स्वदेशमा रोजगारीका अवसर अभावका कारण लाखौं युवाले विदेशिनुपर्ने अवस्थाले देशलाई आर्थिक रूपमा कमजोर बनाएको बताउनुभयो। “देशको विकासका लागि उत्पादनमुखी अर्थतन्त्रमा रूपान्तरण गर्नुपर्छ, बन्द कलकारखाना पुनः सञ्चालन गर्नुपर्छ र पर्यटन क्षेत्रको दिगो विकासमा जोड दिनुपर्छ,” उहाँले भन्नुभयो।
उहाँका अनुसार नेपालले आफ्नो भौगोलिक अवस्थाको फाइदा उठाउँदै छिमेकी दुई विशाल जनसङ्ख्यायुक्त मुलुक—भारत र चीनलाई लक्षित गरेर उत्पादन वृद्धि र निर्यातमुखी नीतिहरू ल्याउनुपर्छ।
ढुङ्गाना समूहले आफ्नो राजनीतिक अभियानलाई “सुशासन, आर्थिक स्वाधीनता र नागरिक उत्तरदायित्व”का तीन स्तम्भमा आधारित राख्ने जनाएको छ।

