गण्डकी प्रदेश सरकारबाट एमालेका मन्त्री फिर्ता हुने

पोखरा, ९ भदौ – गण्डकी प्रदेश सरकारमा सहभागी नेकपा एमालेका मन्त्रीहरू फिर्ता हुने भएका छन्। एमाले संसदीय बोर्डको केही बेरअघि बसेको बैठकले सरकारमा रहेका आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको एमाले प्रमुख सचेतक देवका पहारीले जानकारी दिनुभयो।

उहाँका अनुसार एमालेका मन्त्रीहरूले सामूहिक रूपमा राजीनामा बुझाउने तयारी गरेका छन्। त्यसपछि पार्टीले कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भइरहेको उहाँले बताउनुभयो। नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच राष्ट्रियस्तरमा सहकार्य भएपछि त्यसको प्रभाव गण्डकी प्रदेशमा समेत परेको हो। यही सहकार्यका कारण एमाले प्रदेश सरकारबाट बाहिरिन लागेको हो।

गण्डकी प्रदेश सरकारमा एमालेका तर्फबाट गोविन्दबहादुर नेपाली भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री, यशोदा रिमाल उद्योग तथा पर्यटनमन्त्री, भीम कार्की कृषिमन्त्री र लक्ष्मणबहादुर पाण्डे स्वास्थ्य मन्त्री हुनुहुन्छ।

एमालेका मन्त्रीहरूले राजीनामा दिएपछि गण्डकी प्रदेश सरकारको सत्ता समीकरणमा समेत परिवर्तन आउने देखिएको छ।

Facebook Comments Box