नेपालगन्जका दुई स्पाका तीन सञ्चालक पक्राउ, सात किशोरीको उद्धार
नेपालगन्ज, ९ भदौ – प्रहरीले नेपालगन्जमा सञ्चालित दुई स्पाका तीन सञ्चालकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक भारतीय नागरिकसमेत छन्। पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका–१० आदर्शनगरस्थित प्लेजर स्पाकी सञ्चालक भारतीय नागरिक गुडिया खान, सोही स्थानमा सञ्चालित आयुर्वेदिक रिल्याक्स स्पाकी सञ्चालक दुर्गा थारु र नेपालगन्ज–२ स्थित रिल्याक्स स्पाका सञ्चालक तर्कराज देवकोटा रहेका छन्।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरका अनुसार पक्राउ परेका तीनै जनालाई जिल्ला अदालत बाँकेबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ। प्रहरीका अनुसार ती स्पामा काममा लगाइएका सात किशोरीको उद्धार गरिएको छ। बालबालिकासम्बन्धी ऐन, २०७५ बमोजिम पक्राउ परेका सञ्चालकमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
विशेष सूचनाका आधारमा स्पामा जाँच गर्दा किशोरीहरू फेला परेपछि प्रहरीले उनीहरूलाई शनिबार पक्राउ गरेको हो। पछिल्लो समय नेपालगन्जका विभिन्न स्थानमा स्पा सेन्टर सञ्चालन हुने क्रम बढ्दै गएको प्रहरीले जनाएको छ।

