मन्थलीबाट काँकरभिट्टा जाँदै गरेको रात्रिबस झापामा दुर्घटना, १९ जना घाइते

झापा, ११ कात्तिक – झापाको शिवसताक्षी नगरपालिका–१० माईधारचोक नजिकै आज बिहान रात्रिबस दुर्घटना हुँदा १९ जना यात्रु घाइते भएका छन्। मन्थलीबाट काँकरभिट्टा जाँदै गरेको प्र१–०१–००१क ४२०९ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल पल्टिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार घाइते १९ जनालाई तत्काल उपचारका लागि बिर्तासिटी अस्पताल, बिर्तामोड पठाइएको छ। बाँकी छ जना यात्रु सकुशल आफ्नो गन्तव्यतर्फ गएका छन्। बसमा जम्मा २५ जना यात्रु सवार थिए। दुर्घटनापछि सडकमा यातायात सञ्चालनमा अवरोध नभएको प्रहरीको भनाइ छ। दुर्घटनामा बस चालक राजु भुजेल (३९), मेचीनगर–६ सहित झापा, रामेछाप र दोलखाका यात्रुहरू घाइते भएका छन्।

घाइतेमध्येका केहीको विवरण यसप्रकार छः

  • इक्षा लिम्बू (१७), झापा गाउँपालिका–३

  • रविलाल गणेश (२०) र परिना गणेश (२१), कचनकवल–४

  • सिमित्रा खड्का कार्की (३६) र छोरा एलोन (९), बिर्तामोड–१०

  • अम्बरबहादुर बुढाथोकी (६५), मन्थली–१०

  • भीमप्रसाद पुरी (३५), मन्थली–९

  • मिटु खत्री (६५), खाँडादेवी–३

  • प्रदीपबहादुर बस्नेत (३०), बैनेश्वर–३

  • अनु श्रेष्ठ (८), देउराली

  • कुमार बस्याल (२८), तामाकोशी–३

  • साथै झापाका भेमा राजवंशी (२७), रामकुमार श्रेष्ठ (३५) र छोरा रिदम (९), पूर्णबहादुर नेपाली (२३), शितल नेपाली (१८), अभिषेक राजवंशी (२१) र श्यामलाल किस्कु (१८) घाइते भएका छन्। प्रहरीका अनुसार घाइतेहरूको अवस्था सामान्यदेखि मध्यम रहेको र सबैको उपचार भइरहेको छ। बस अनियन्त्रित भएर पल्टिएको प्रारम्भिक अनुसन्धानले देखाएको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

Facebook Comments Box