धार्मिक पर्यटकीय गन्तव्य बन्दै राक्सिराङको सीता अशोक बाटिका
बागमती, ९ भदौ – मकवानपुरको राक्सिराङ गाउँपालिका–३ पलाँसेमा रहेको सीता अशोक बाटिका धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ। अशोक वृक्षको छहारीमा राखिएका सीता र त्रिजटाका मूर्तिले यहाँ पुग्ने जोकोहीलाई त्रेतायुगको झल्को दिने गरेको छ। डिभिजन वन कार्यालय, राप्ती मनहरीको आयोजना, भर्याङ कालिका सामुदायिक वनको व्यवस्थापन तथा राक्सिराङ गाउँपालिकाको समन्वयमा ती मूर्ति निर्माण गरिएको हो।
विसं २०८० असार १८ गते तत्कालीन बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माको उपस्थितिमा मूर्तिको प्राणप्रतिष्ठा गरिएको थियो। जानकी मन्दिर जनकपुरधामबाट प्राप्त फूलमाला, पाती र प्रसाद तथा दूधमतीबाट ल्याइएको जलले मूर्तिमा सेचन गरिएकाले यस स्थानको धार्मिक महिमा थप बढेको स्थानीयवासी बताउँछन्।
यस क्षेत्रमा प्राकृतिक रूपमा नै उम्रिएका अशोकका रूख छन्। ती रूखको संरक्षण गर्दै थप अशोकका बिरुवा रोपेर परिसरलाई व्यवस्थित अशोक बाटिकाका रूपमा विकास गर्ने योजना रहेको डिभिजन वन कार्यालय, राप्ती मनहरीका प्रमुख हेमबहादुर थापाले बताउनुभयो।सीता अशोक बाटिकामा राखिएका सीता र त्रिजटाका मूर्ति विश्वमै दुर्लभ रहेको विश्वास गरिन्छ। धार्मिक ग्रन्थमा रावणले सीतालाई लङ्का लगेपछि उनको रेखदेखका लागि त्रिजटालाई खटाइएको र त्रिजटाले सीतालाई हौसला प्रदान गरेको उल्लेख छ।
यसै आधारमा राक्षस पक्षमा रहे पनि सङ्कटमा परेकी सीतालाई सकारात्मक सहयोग गरेकी त्रिजटाको भूमिकालाई सम्मान गर्दै सीतासँगै उनको मूर्ति राखिएको स्थानीयवासी बताउँछन्। मकवानपुरगढी–७ सुकौराका हर्कबहादुर ब्लोनले साढे दुई महिनाको समय लगाएर ती मूर्ति निर्माण गर्नुभएको हो।
राक्सिराङ गाउँपालिका–३ का वडाध्यक्ष उत्तम वाइबाका अनुसार सीता अशोक बाटिकासँगै जलपरी झरना, चमेरे गुफा र भर्याङ कालिका मन्दिरलाई समेटेर धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने दीर्घकालीन योजना छ। भर्याङ कालिकामा हरेक वर्ष मङ्सिर पूर्णिमाका दिन ठूलो मेला लाग्ने गरेको छ। उक्त मेलामा पूर्वको विराटनगरदेखि पश्चिमको बुटवलसम्मका दर्शनार्थी आउने र करिब ३० हजार जनाले सहभागिता जनाउने गरेको वडाध्यक्ष वाइबाले जानकारी दिनुभयो।
राम र रावणको दरबार बनाउने योजना
सीता अशोक बाटिकामा रावणले सीतालाई हरण गरेर ल्याएको परिवेशलाई जीवन्त बनाउने उद्देश्यले रावणको दरबार निर्माण गर्ने योजना अघि सारिएको छ। वडाध्यक्ष वाइबाका अनुसार अशोक बाटिकासँगै पारी पचभैयामा विशाल हनुमानको मूर्तिसहित रामको दरबार निर्माण गर्ने योजना पनि छ। त्यसका लागि विस्तृत परियोजना प्रतिवेदन तयार पारिएको र करिब १५ करोड रुपैयाँ लागत अनुमान गरिएको छ।
बागमती प्रदेशमा आउने पर्यटकलाई कम्तीमा एक दिन राक्सिराङ क्षेत्रमा बिताउन सक्ने वातावरण निर्माण गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो। त्यसका लागि स्थानीय तहसँगै प्रदेश र सङ्घीय सरकारको सहयोग आवश्यक रहेको उहाँको भनाइ छ। सञ्चारकर्मी रामकुमार एलनले सीता अशोक बाटिका, जलपरी झरना, चेपाङ सङ्ग्रहालयलगायत क्षेत्रलाई एकीकृत रूपमा विकास गर्न सके राक्सिराङ प्रकृति, संस्कृति र धार्मिक पर्यटनको विशिष्ट गन्तव्य बन्न सक्ने बताउनुभयो।
आवश्यक पूर्वाधार निर्माण गर्न सके आन्तरिक पर्यटकसँगै भारतबाट हेटौँडा आउने पर्यटकलाई समेत राक्सिराङमा कम्तीमा एक दिन घुम्न आकर्षित गर्न सकिने उहाँको भनाइ छ।

