नेपालमा १६८ प्रजातिका लामखुट्टे, कीटजन्य रोगको जोखिम बढ्दो
काठमाडौँ, ४ भदौ – विश्व लामखुट्टे दिवस नेपालमा ‘सानो टोकाइ, ठूलो चुनौती’ भन्ने नाराका साथ आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। लामखुट्टेको टोकाइबाट हुने रोगबारे जनचेतना फैलाउने र त्यस्ता रोगबाट बच्ने उपायबारे जानकारी गराउने उद्देश्यले हरेक वर्ष विश्व लामखुट्टे दिवस मनाउने गरिन्छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, स्वास्थ्य सेवा विभागका अनुसार नेपालमा हालसम्म लामखुट्टेका १६८ प्रजाति पहिचान भएका छन्। लामखुट्टेको टोकाइबाट औँलो, डेङ्गु, चिकनगुनिया, कालाजार, स्क्रब टाइफस, हात्तीपाइले तथा जापानिज इन्सेफलाइटिसजस्ता विभिन्न कीटजन्य रोग सर्ने गर्छन्।
विभागका अनुसार गत आर्थिक वर्षमा लामखुट्टे तथा अन्य कीटजन्य रोगबाट करिब १८ हजार ७१० जना प्रभावित भएका थिए। पछिल्लो समय जलवायु परिवर्तनका कारण लामखुट्टेको बासस्थान र फैलावटमा समेत परिवर्तन आउन थालेकाले उच्च हिमाली क्षेत्रसम्मै कीटजन्य रोगको जोखिम बढ्दै गएको विभागले जनाएको छ। कीटजन्य रोग नियन्त्रणका लागि सरकारले सातवटै प्रदेशमा प्रयोगशाला स्थापना गरी रोगको पहिचान, निगरानी तथा नियन्त्रणका विभिन्न काम गर्दै आएको छ।
कीट रोग नियन्त्रण शाखाका प्रमुख डा. कर्ण दाहालका अनुसार पछिल्लो समय कीटजन्य रोगको प्रभाव ५६ जिल्लासम्म फैलिएको छ। लामखुट्टेको प्रजननस्थल नष्ट गर्ने, घर वरपर पानी जम्न नदिने तथा लामखुट्टेको टोकाइबाट बच्न व्यक्तिगत सुरक्षा अपनाउन सके यस्ता रोगको जोखिम न्यूनीकरण गर्न सकिने स्वास्थ्य अधिकारीहरूले बताएका छन्। जलवायु परिवर्तनसँगै लामखुट्टेको फैलावट नयाँ क्षेत्रमा विस्तार हुन थालेकाले रोग नियन्त्रणका लागि सरकारी निकायसँगै स्थानीय तह र नागरिकको सक्रियता आवश्यक रहेको विभागले जनाएको छ।

