कोशी र बागमतीका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना
काठमाडौँ, ४ भदौ – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज राति कोशी र बागमती प्रदेशका पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने जनाएको छ। महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
महाशाखाले शुक्रबार र शनिबार देशभर साधारणतया बदली रहने पूर्वानुमान गरेको छ। शुक्रबार हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। त्यस्तै, शुक्रबार र शनिबार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ। भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो तथा भू–क्षयको जोखिम हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

