केन्यामा सफारीका क्रममा हेलिकप्टर दुर्घटना, सात जनाको मृत्यु
नैरोबी – केन्याको उत्तरी क्षेत्रमा सफारीका क्रममा हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार सातै जनाको मृत्यु भएको छ। मृतकमध्ये पाँच जना अमेरिकी नागरिक रहेको स्थानीय प्रहरी र अमेरिकी विदेश विभागले जनाएको छ। केन्या नागरिक उड्डयन प्राधिकरणका अनुसार हेलिकप्टरमा एक जना पाइलट र छ जना यात्रु थिए। हेलिकप्टर बुधबार बिहान ९ः१३ बजे लोसाबा कन्जर्भेन्सीबाट साम्बुरु काउन्टीको इवासो न्यिरो क्षेत्रतर्फ उडेको थियो।
उडानका क्रममा हेलिकप्टर माउन्ट ओलोलोक्वेको दुर्गम क्षेत्रमा दुर्घटनाग्रस्त भएको प्राधिकरणले जनाएको छ। दुर्घटनापछि खोज तथा उद्धारका लागि हेलिकप्टरसहित केन्या रेडक्रसका आपत्कालीन टोली परिचालन गरिएको थियो। उद्धार टोलीले दुर्घटनास्थलमा पुगेर हेलिकप्टरमा सवार सबै सात जनाको मृत्यु भएको पुष्टि गरेको छ। दुर्घटनामा परेको हेलिकप्टर स्थानीय कम्पनीले सञ्चालन गरेको चार्टर उडानमा प्रयोग भएको थियो।
मृत्यु हुने पाँच अमेरिकी नागरिकको आधिकारिक परिचय भने सार्वजनिक गरिएको छैन। अमेरिकी दूतावासले स्थानीय अधिकारीसँग समन्वय गरी मृतकका परिवारलाई आवश्यक कन्सुलर सहायता उपलब्ध गराइरहेको जनाएको छ। दुर्घटनापछि यसको कारणबारे अनुसन्धान सुरु गरिएको छ। हेलिकप्टरमा प्राविधिक समस्या आएको थियो वा अन्य कुनै कारणले दुर्घटना भएको हो भन्ने विषयमा अधिकारीहरूले अनुसन्धान गरिरहेका छन्। दुर्घटनामा परेको हेलिकप्टर युरोकप्टर ईसी–१३० बी४ मोडलको रहेको जनाइएको छ। अधिकारीहरूले दुर्घटनाको विस्तृत कारण अनुसन्धान पूरा भएपछि मात्र खुल्ने बताएका छन्।

