दश वर्षमा पनि बनेन मनाङमा मोटरेबल पुल, स्थानीय जोखिम मोलेर यात्रा गर्न बाध्य
मनाङ, ३ भदौ – हिमाली जिल्ला मनाङमा निर्माण सम्झौता भएको १० वर्ष बितिसक्दा पनि मोटरेबल पुल निर्माण सम्पन्न हुन सकेको छैन। मनाङ ङिस्याङ गाउँपालिका–३ ङावल र वडा नम्बर ४ हुम्डे जोड्ने मस्र्याङ्दी नदीमाथिको पुल लामो समयदेखि अलपत्र हुँदा स्थानीयवासी जोखिम मोलेर आवतजावत गर्न बाध्य छन्।
पूर्वाधार कार्यालयका अनुसार पुल निर्माणका लागि ठेकेदार कम्पनीले सम्झौता रकमको करिब ७० प्रतिशत भुक्तानी लिइसकेको छ। तर निर्माणको गति भने निकै सुस्त रहेको कार्यालयले जनाएको छ। कार्यालय प्रमुख हरि थापाका अनुसार निर्माण कम्पनीलाई आवश्यक रकम भुक्तानी गरिए पनि अपेक्षाअनुसार काम अघि बढ्न सकेको छैन। पटकपटक म्याद थपिँदै आए पनि पुल निर्माण सम्पन्न हुन नसकेको उहाँले बताउनुभयो। उहाँका अनुसार पुलको बिम उठाउनेबाहेक अन्य महत्वपूर्ण काम अघि बढेको देखिएको छैन।
करिब चार करोड रुपैयाँ लागतमा निर्माण हुने गरी पुलको सम्झौता भएको थियो। विसं २०७३ असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको उक्त पुल मनाङ ङिस्याङ गाउँपालिका–३ र ४ लाई जोड्ने तथा मस्र्याङ्दी नदी पार गरी माथिल्लो मनाङ पुग्ने मुख्य सडकमा पर्छ। वडा नम्बर ३ का अध्यक्ष कृष्णबहादुर लामाले पुल निर्माणमा ठेकेदार कम्पनीसँगै सम्बन्धित कार्यालयले समेत पर्याप्त चासो नदिएको आरोप लगाउनुभएको छ। पुल नबन्दा गाउँपालिका कार्यालयसम्म पुग्न स्थानीयवासीले लामो समय खर्चिनुपरेको उहाँको भनाइ छ।
स्थानीय मुखिया लामाका अनुसार पुल निर्माण सम्पन्न भए गाउँपालिका कार्यालय पुग्न चार–पाँच मिनेट मात्र लाग्नेछ। तर अहिले पुल नहुँदा घरबाट गाउँपालिका कार्यालय पुग्न धेरै समय लाग्ने गरेको छ। स्थानीयवासीले लामो समयदेखि काम नगर्ने ठेकेदार कम्पनीसँगको सम्झौता तोडेर नयाँ कम्पनीमार्फत पुल निर्माण अघि बढाउन माग गर्दै आएका छन्। पुल निर्माणमा भएको ढिलाइले अन्य विकास निर्माणका कामसमेत प्रभावित भएको उनीहरूको भनाइ छ।
जिल्ला अनुगमनका क्रममा मनाङका सांसद एवं पूर्वमन्त्री टेकबहादुर गुरुङले ठेकेदार कम्पनीलाई तत्काल निर्माणको काम अघि बढाउन निर्देशन दिनुभएको छ। उहाँले पुल निर्माण सम्पन्न भएपछि मात्र मूल्याङ्कनका आधारमा भुक्तानी दिन सम्बन्धित पूर्वाधार कार्यालयलाई निर्देशन दिनुभएको छ। मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले पनि पटकपटक निर्माण कम्पनीसँग सम्पर्क गरी काम पूरा गर्न आग्रह गरे पनि कम्पनीले चासो नदिएको बताउनुभयो। पटकपटक म्याद थपेर काम गर्ने अवसर दिइए पनि निर्माणले गति लिन नसकेको उहाँको भनाइ छ।
पूर्वसांसद पाल्देन छोम्पाङ गुरुङले पर्यटकीय क्षेत्र मनाङमा आवश्यक पूर्वाधार समयमै निर्माण नहुँदा स्थानीयवासीसँगै पर्यटकले समेत सास्ती भोग्नुपरेको बताउनुभएको छ। उहाँले पुललगायतका पूर्वाधार समयमै निर्माण भए मनाङमा स्थानीयवासी र पर्यटकको आवतजावत सहज हुने बताउनुभएको छ।

