टोखा–छहरे सडक राति १० बजेदेखि बिहान ५ बजेसम्म बन्द

नुवाकोट, ३ भदौ – वर्षाका कारण पहिरो, लेदो तथा गेग्रान खस्ने जोखिम बढेपछि नुवाकोट प्रशासनले टोखा–छहरे सडकखण्डमा रातिको समयमा सवारी आवागमन बन्द गरेको छ। नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार नुवाकोट हुँदै धादिङ तथा चीनसँगको नाका रसुवागढीसम्म जोडिने मुख्य सडकमा पहिरोको जोखिम बढेपछि हरेक दिन राति १० बजेदेखि बिहान ५ बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको हो।

शिवपुरी गाउँपालिका–८ घट्टेखोलास्थित सडकखण्डमा वर्षाका कारण लेदो, पहिरो तथा गेग्रान खस्ने जोखिम बढेपछि यात्रुको सुरक्षालाई ध्यानमा राखी अत्यावश्यक बाहेकका सवारीसाधन रातिको समयमा सञ्चालन गर्न रोक लगाइएको प्रशासनले जनाएको छ। भदौ १ गते रातिदेखि लागू भएको यो व्यवस्था अर्को सूचना जारी नभएसम्म कायम रहनेछ। जोखिमयुक्त स्थानमा सुरक्षाकर्मी परिचालन गरिने र एम्बुलेन्सलगायत आकस्मिक सेवाका सवारीसाधनलाई भने सञ्चालन गर्न दिइने प्रमुख जिल्ला अधिकारी रेग्मीले बताउनुभयो।

उहाँले वर्षाका कारण सडक जोखिमपूर्ण रहेकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन तथा रातिको समयमा यात्रा नगर्न सर्वसाधारण र यातायात व्यवसायीलाई आग्रह गर्नुभएको छ। जिल्ला प्रहरी कार्यालय नुवाकोटले पनि सडक तथा मौसमको अवस्था जोखिमपूर्ण रहेकाले सावधानी अपनाउन र प्रशासनको निर्णय कार्यान्वयनमा सहयोग गर्न आग्रह गरेको छ। विपद्सम्बन्धी जानकारी तथा सहयोग आवश्यक परे जिल्ला प्रहरी कार्यालयको १००, सशस्त्र प्रहरी बलको १११४ तथा जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रको १२३४ मा सम्पर्क गर्न सकिने जनाइएको छ।

Facebook Comments Box