झन्डै ६ महिनापछि कांग्रेस पूर्वसभापति देउवा स्वदेश फर्किंदै

काठमाडौँ, २८ साउन  – नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आज स्वदेश फर्किंदै हुनुहुन्छ । झन्डै ६ महिनापछि उहाँ स्वदेश फर्किन लाग्नुभएको हो । देउवालाई कांग्रेसको संस्थापनइतर समूहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाजागाजा र सांस्कृतिक झाँकीसहित स्वागत गर्ने तयारी गरेको छ ।

कांग्रेस संस्थापनइतर समूहले राष्ट्रिय भेलाका लागि गठन गरेको सांस्कृतिक समितिकी संयोजक विद्या तिमिल्सिनाका अनुसार देउवाको स्वागतका लागि बाजागाजासहित सांस्कृतिक झाँकी निकालिनेछ । कांग्रेस नेता प्रकाशशरण महतका अनुसार देउवा आज मध्याह्न साढे १२ बजे थाई एयरको उडानमार्फत काठमाडौँ अवतरण गर्नुहुनेछ ।

जेनजी आन्दोलनका क्रममा भएको आक्रमणमा परी घाइते हुनुभएका देउवा उपचारका लागि गत फागुन १३ गते राति सिंगापुर जानुभएको थियो । त्यसपछि चैत ७ गते थप उपचारका लागि सिंगापुरबाट हङकङ पुग्नुभएको थियो । स्वदेश फर्किएपछि देउवा शुक्रबार सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा आयोजना हुने कांग्रेस संस्थापनइतर समूहको राष्ट्रिय भेलामा सहभागी हुनुहुनेछ ।

भेलाको उद्घाटन शुक्रबार दिउँसो १ बजे हुने इतर समूहको प्रचार–प्रसार समिति संयोजक मीन विश्वकर्माले जानकारी दिनुभएको छ । तीन दिनसम्म चल्ने भनिएको राष्ट्रिय भेलामा करिब पाँच हजार नेता तथा कार्यकर्ताको सहभागिता हुने आयोजक समूहले जनाएको छ ।

Facebook Comments Box