पत्रकार किशोर श्रेष्ठ पक्राउको विरोधमा महासंघले कडा आन्दोलन गर्ने चेतावनी

काठमाडौँ, २८ साउन – पत्रकार किशोर श्रेष्ठ पक्राउ परेको विरोधमा नेपाल पत्रकार महासंघले कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । महासंघका अध्यक्ष निर्मला शर्मासहित पत्रकार तथा सञ्चारकर्मीले काठमाडौं प्रहरी परिसरअगाडि धर्ना दिँदै श्रेष्ठको पक्राउप्रति आपत्ति जनाएका छन् ।

धर्नाका क्रममा महासंघले पत्रकार श्रेष्ठलाई पक्राउ गरिएको विषयमा तत्काल स्पष्ट धारणा सार्वजनिक गर्न सम्बन्धित निकायसँग माग गरेको छ । महासंघ अध्यक्ष शर्माले पत्रकारिता र प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप स्वीकार्य नहुने भन्दै समस्या तत्काल समाधान नभए थप कडा आन्दोलन अघि बढाउने चेतावनी दिनुभएको छ ।

महासंघले पत्रकारलाई पक्राउ गर्नुको कारण सार्वजनिक गर्न, कानुनी प्रक्रिया पारदर्शी बनाउन तथा पत्रकारको संवैधानिक अधिकारको सम्मान गर्न माग गरेको छ । यद्यपि, पत्रकार श्रेष्ठमाथि लागेको आरोप र उहाँलाई पक्राउ गर्नुको कानुनी आधारबारे सम्बन्धित निकायबाट आधिकारिक विवरण सार्वजनिक हुन बाँकी छ । महासंघले आफ्ना माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलन अघि बढाउने जनाएको छ ।

Facebook Comments Box