सल्यानमा भेरी नदीमा खसेको जिप र बेपत्ता दुई जनाको खोजी पुनः सुरु
सल्यान, २८ साउन – सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१ अम्रास्थित बाङ्गिरह नजिकै भेरी नदीमा खसेको जिप र बेपत्ता दुई जनाको खोजी आज बिहानदेखि पुनः सुरु गरिएको छ । बुधबार दिउँसो सडकबाट करिब ५० मिटर तल खसेको जिप भेरी नदीमा पुगेको थियो । जिपमा सवार चार जनामध्ये दुई जना पौडिएर ज्यान जोगाउन सफल भए पनि दुई जना अझै बेपत्ता छन् ।
बेपत्ताको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीको गोताखोर टोली र स्थानीयवासीले दिनभर खोजी गरे पनि जिप वा बेपत्ता व्यक्तिको अवस्था पत्ता लाग्न सकेको थिएन । भेरी नदीको तीव्र बहाव र गहिराइका साथै साँझ परेपछि अँध्यारो भएकाले बुधबारको खोजी स्थगित गरिएको थियो ।
आज बिहान उज्यालो भएपछि डुंगा र गोताखोर टोली परिचालन गरी नदीभित्र तथा आसपासका क्षेत्रमा खोजी कार्य पुनः सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । प्रहरीका अनुसार बेपत्ता हुनेमा जिपका मालिक सल्यानको सिद्धकुमाख गाउँपालिका–४ का २३ वर्षीय भीमबहादुर राना र जिप चालक कुमाख गाउँपालिका–५ का करिब २३ वर्षीय हेमराज बीसी रहेका छन् ।

