‘ऋषिकेश’ धार्मिक तथा पर्यटकीय गन्तव्यको रूपमा विकसित
पाल्पा, १८ कात्तिक – पाल्पा, गुल्मी र स्याङ्जा जिल्लाको सङ्गमस्थल रुरुक्षेत्र (रिडी)मा अवस्थित प्रसिद्ध ऋषिकेश मन्दिर पछिल्ला वर्षमा धार्मिक पर्यटकीय गन्तव्यको रूपमा विकसित हुँदै गएको छ । मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ देशका विभिन्न भागबाट भक्तजन यहाँ दर्शनका लागि आउने गरेका छन् ।
कालीगण्डकी र रिडी खोलाको सङ्गमस्थलमा रहेको ऋषिकेशलाई भगवान् नारायणको रूप मानिन्छ । पाल्पाका तत्कालीन राजा मणिमुकुन्द सेनले वि.सं. १५७५ मा कालीगण्डकी नदीमा स्नान गर्ने क्रममा भेटिएको शिलाबाट ऋषिकेश मन्दिर निर्माण गरेको ऐतिहासिक तथ्य पाइन्छ ।
पाँच सय वर्ष पुरानो यो मन्दिरमा हरेक वर्ष हरिबोधनी एकादशीको भोलिपल्ट रथयात्रा निकाल्ने परम्परा रहिआएको छ । यस वर्ष पनि हजारौँ भक्तजन, साधुसन्त र तीर्थयात्रीको उपस्थितिमा ऋषिकेश भगवान्को रथयात्रा भव्य रूपमा सम्पन्न भएको छ ।
मन्दिरका पुजारी विवेक भट्टराईका अनुसार रथयात्राको दिन मात्र करिब पाँच हजार भक्तजनले पूजाआजा गरेका थिए । भक्तजनहरूले रुरुक्षेत्रधामस्थित मन्दिर परिसरबाट रथलाई रिडी बजार, ऋषिकेश क्षेत्र र अर्गली बजारपर्यन्त परिक्रमा गराई भगवान्को दर्शन गरेका थिए ।
रुरुक्षेत्रलाई ‘नेपालको चारधाममध्ये एक’ मानिन्छ । धार्मिक विश्वासअनुसार यहाँको ऋषिकेश मन्दिरमा दर्शन र स्नान गरे पापकर्म नाश भई मोक्ष प्राप्त हुने जनविश्वास रहिआएको छ । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पर्शुराम भट्टराईका अनुसार वर्षभरि यहाँ तीर्थयात्रीको आगमन रहन्छ, विशेषगरी माघेसङ्क्रान्ति र रथयात्राका अवसरमा हजारौँ भक्तजनको भीड लाग्ने गर्छ ।
हालका वर्षमा स्थानीय सरकार, धार्मिक गुठी संस्था र विभिन्न सङ्घसंस्थाको सहयोगमा रुरुक्षेत्रलाई धार्मिक पर्यटनस्थलका रूपमा विकास गर्ने प्रयास तीव्र भएको छ । मन्दिर पुनःनिर्माण, तीर्थपथ सुधार, खानेपानी र सरसफाइ जस्ता आधारभूत संरचना विस्तारसँगै रुरुक्षेत्र आन्तरिक पर्यटकहरूको प्रमुख गन्तव्य बन्दै गएको स्थानीयवासी कमल खनालले बताए ।
स्थानीयहरूका अनुसार ऋषिकेश भगवान्को रथयात्रा धार्मिक श्रद्धाको प्रतीक मात्र नभई सांस्कृतिक एकताको प्रतीकका रूपमा पनि स्थापित हुँदै गएको छ । तानसेन नगरपालिकाले यस अवसरमा स्थानीय बिदा दिने परम्परा समेत कायम राखेको छ ।

