कोशीको बाढी र कटानको दोहोरो त्रासमा चिलिया टापु
सुनसरी, २४ साउन – सुनसरीको बराहक्षेत्र नगरपालिका–६ र ९ तथा उदयपुरको बेलका नगरपालिका–१, २ र ३ मा फैलिएको चिलिया टापुका बासिन्दा हरेक वर्ष सप्तकोशीको बाढी र कटानको दोहोरो जोखिममा बाँच्न बाध्य छन्। सप्तकोशीको बहाव बढेसँगै यहाँ नदी कटान तीव्र हुने गरेको छ। नदीले खेतीयोग्य जमिन कटान गर्दै बस्ती नजिकै आइपुगेपछि स्थानीयमा त्रास बढेको छ।
कटान नियन्त्रणका लागि स्थानीयवासी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरी अहिले संयुक्त रूपमा श्रमदानमा जुटेका छन्। बाँस गाड्ने, बालुवा भरिएका बोरा राख्ने तथा अस्थायी तटबन्ध निर्माण गर्ने काम भइरहेको छ। सप्तकोशी कटान नियन्त्रण समितिका अनुसार यसअघि निर्माण गरिएका करिब १८ वटा स्परमध्ये नौवटा पूर्ण रूपमा क्षतिग्रस्त भइसकेका छन्। बाँकी संरचनासमेत नदी कटानको जोखिममा छन्।
बेलका नगरपालिकाका अनुसार चिलिया र गरैया क्षेत्रमा करिब ६ सय घरपरिवार प्रत्यक्ष जोखिममा छन्। नदीले धार परिवर्तन गर्दै पश्चिमतर्फ बस्ती भएको क्षेत्रमा कटान बढाउने सम्भावना रहेकाले जोखिम अझ बढेको स्थानीय जनप्रतिनिधिको भनाइ छ। कटान नियन्त्रणका लागि कोशी बक्राहा नदी नियन्त्रण आयोजनाले पाँच हजार पाँच सय बोरा र ७० थान डोरीजाली उपलब्ध गराएको छ। स्थानीय तहले पनि जेसिभी, ट्याक्टर, जाली, बोरा, सिमेन्टलगायत सामग्री परिचालन गरेर संरक्षणको काम गरिरहेको जनाएको छ।
स्थानीयका अनुसार हरेक वर्ष खेतीयोग्य जमिन साँघुरिँदै गएको छ भने कतिपय स्थानमा नदी घर नजिकै पुगेको छ। बाढी र कटानका कारण वर्षेनी खेतीपातीमा क्षति पुग्ने र आवश्यक पर्दा बस्ती नै छाड्नुपर्ने अवस्था आउने गरेको उनीहरूको गुनासो छ। बराहक्षेत्र नगरपालिकाले कोशीको कटान स्थानीय तहको क्षमताभन्दा ठूलो समस्या भएकाले सङ्घीय सरकारले वैज्ञानिक अध्ययनका आधारमा दीर्घकालीन नदी नियन्त्रण संरचना निर्माण गर्नुपर्ने जनाएको छ।
करिब तीन हजार जनसङ्ख्या रहेको चिलिया टापु क्षेत्रमा अधिकांश परिवार कृषि, पशुपालन तथा दुग्ध उत्पादनमा निर्भर छन्। स्थानीयले हरेक वर्ष आफ्नै श्रम र स्रोतसाधनबाट बस्ती जोगाउने प्रयास गरे पनि अस्थायी संरचनाले दीर्घकालीन समाधान दिन नसकेको बताएका छन्।

