झापामा हात्तीपीडितलाई करिब दुई करोड राहत
झापा, २४ साउन – झापामा मानव–हात्ती द्वन्द्वका कारण एक वर्षमा करिब दुई करोड रुपैयाँ बराबरको क्षति भएको छ। डिभिजन वन कार्यालय झापाका अनुसार आर्थिक वर्ष २०८२/८३ मा हात्तीपीडितलाई एक करोड ९९ लाख ९० हजार ६ सय ८६ रुपैयाँ राहत वितरण गरिएको छ। कार्यालयका अनुसार हात्तीको आक्रमणबाट सो अवधिमा ६ जनाको मृत्यु भएको छ भने १७ जना गम्भीर घाइते भएका छन्। मृतकका परिवारलाई जनही १० लाख रुपैयाँका दरले ६० लाख र घाइतेलाई २६ लाख ६० हजार ८ सय ६२ रुपैयाँ राहत दिइएको छ।
यस्तै, १५ वटा पशुधनमा भएको क्षतिबापत एक लाख ५० हजार, भण्डारण गरिएको अन्नमा क्षति पुगेका १ सय ९१ घटनामा १५ लाख २० हजार २ सय ६४ रुपैयाँ तथा २ सय ६८ घरगोठमा भएको क्षतिबापत ४२ लाख ५४ हजार ५ सय ६० रुपैयाँ राहत वितरण गरिएको कार्यालयले जनाएको छ। अन्नबालीमा भएको क्षतिबापत मात्रै ५४ लाख पाँच हजार रुपैयाँ क्षतिपूर्ति वितरण गरिएको डिभिजन वन कार्यालय झापाले जनाएको छ।

