विश्व आदिवासी दिवस आज, अधिकार र पहिचान संरक्षणमा जोड
काठमाडौँ, २४ साउन – विश्वभरका आदिवासी जनजातिको अधिकार, पहिचान, भाषा, संस्कृति र जीवनपद्धतिको संरक्षणमा जोड दिँदै आज विश्व आदिवासी दिवस मनाइँदैछ। हरेक वर्ष अगस्ट ९ तारिखमा मनाइने यो दिवसका अवसरमा विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रम आयोजना हुँदैछन्।
संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९९४ डिसेम्बर २३ मा अगस्ट ९ लाई विश्व आदिवासी दिवसका रूपमा मनाउने निर्णय गरेको थियो। सन् १९८२ मा यही दिन जेनेभामा संयुक्त राष्ट्रसङ्घको आदिवासी जनसङ्ख्यासम्बन्धी कार्यसमूहको पहिलो बैठक बसेकाले अगस्ट ९ लाई दिवसका रूपमा चयन गरिएको हो।
संयुक्त राष्ट्रसङ्घका अनुसार विश्वका ९० देशमा करिब ४७ करोड ६० लाख आदिवासी जनजाति बसोबास गर्छन्। उनीहरू विश्व जनसङ्ख्याको ६ प्रतिशतभन्दा कम भए पनि विश्वका सबैभन्दा गरिबमध्ये कम्तीमा १५ प्रतिशत आदिवासी समुदाय रहेका छन्। आदिवासी समुदायले आफ्ना भाषा, संस्कृति, परम्परा र परम्परागत ज्ञान पुस्तौँदेखि संरक्षण गर्दै आएका छन्। उनीहरूले पुख्र्यौली भूमि, प्राकृतिक स्रोतसाधन तथा आफ्नै जीवनपद्धतिमाथिको अधिकारका लागि लामो समयदेखि संघर्ष गर्दै आएका छन्।
दिवसका अवसरमा आदिवासी जनजातिको अधिकार, भाषा, संस्कृति, परम्परागत ज्ञान र प्राकृतिक स्रोतसँगको सम्बन्ध संरक्षण गर्नुका साथै राज्यका निर्णय प्रक्रियामा उनीहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिइन्छ। विश्व आदिवासी दिवसले आदिवासी समुदायले भोगिरहेका चुनौती र उनीहरूको योगदानप्रति ध्यानाकर्षण गराउँदै अधिकार, सम्मान र समान अवसर सुनिश्चित गर्न सरकार, नागरिक समाज तथा अन्तरराष्ट्रिय समुदायलाई प्रतिबद्ध हुन आह्वान गर्ने अवसर प्रदान गरेको छ।

