वर्षाले सडक अवरुद्ध, विभिन्न राजमार्गमा यातायात प्रभावित

काठमाडौँ, २४ साउन – वर्षा, पहिरो, सडक भासिने र कटानका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार आज बिहान पौने ६ बजेसम्म तेह्रथुमको मध्यपहाडी लोकमार्ग, सिन्धुपाल्चोकको अरनिको राजमार्ग, इलामको मेची राजमार्ग, रसुवाको त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडक र रुकुम पश्चिमको भेरी करिडोरलगायत सडकखण्डमा यातायात प्रभावित भएको छ।

सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। उक्त सडकखण्डमा बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म भने यातायात सञ्चालन हुने व्यवस्था गरिएको छ। मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

इलाम नगरपालिका–९ राजदुवालीमा सडक हिलाम्मे भएपछि मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। त्यहाँ वैकल्पिक मार्ग भने सञ्चालनमा रहेको प्रहरीले जनाएको छ। सिन्धुपाल्चोकको जिरोकिलो, कोदारी र लिपिङ क्षेत्रमा पहिरो तथा सडक भासिएपछि अरनिको राजमार्गका विभिन्न खण्ड अवरुद्ध भएका छन्। चौतारा साँगाचोकगढी नगरपालिका–९ डुम्रेमा पनि अरनिको राजमार्ग अवरुद्ध भएको छ।

त्यस्तै, रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा सडक कटान भएपछि त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। रुकुम पश्चिमको रिजेगार्ड खोलामा पहिरो खसेपछि भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्ड तथा तेह्रथुमको काडेस्थित पिङवाखोला नजिक पहिरो खसेपछि मध्यपहाडी लोकमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको छ। प्रहरीले वर्षायाममा पहिरो, बाढी र सडक कटानको जोखिम कायमै रहेकाले यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको अवस्था बुझेर मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

Facebook Comments Box