पलाँता अस्पतालमा डाक्टर र नर्समाथि कुटपिट भएको केही घण्टामै राति फेरि आक्रमण

काठमाडौँ, २३ साउन – कालीकोटको पलाँता अस्पतालमा डाक्टर र नर्समाथि कुटपिट भएको केही घण्टामै राति फेरि आक्रमण भएको छ। पलाँता गाउँपालिका–९ थिर्पुस्थित अस्पतालमा राति करिब सवा ९ बजे स्थानीय तपेन्द्र बम प्रवेश गरी अहेब विष्णु रोकाया र सुरक्षा गार्ड दर्न डनमाथि कुटपिट गरेका हुन्।

आक्रमणकारीले अस्पतालमा तोडफोडसमेत गरेका छन्। ओपीडीमा रहेको भिडियो स्क्यान मेसिन, भ्याक्सिन राख्ने फ्रिज, पंखा, झ्याल तथा फार्मेसीमा क्षति पुगेको अस्पतालले जनाएको छ। यसअघि शुक्रबार दिउँसो अस्पतालका मेडिकल अफिसर डा. अली हैदर र स्टाफ नर्स शान्ता गिरीमाथि पनि कुटपिट भएको थियो। अस्पतालभित्र भिडियो गेम खेल्न नदिएको विषयमा विवाद भएपछि उनीहरूमाथि आक्रमण भएको जनाइएको छ।

दिउँसोको घटनापछि स्थानीय, जनप्रतिनिधि र प्रहरीको उपस्थितिमा छलफल भएको थियो। तर, आफूहरूमाथि भएको कुटपिट र दुर्व्यवहारमा दोषीलाई कारबाही हुनुपर्ने भन्दै स्वास्थ्यकर्मीहरूले मिलापत्र गर्न अस्वीकार गरेपछि राति पुनः आक्रमण भएको डा. अलीले बताउनुभएको छ।

घटनापछि प्रहरीले आक्रमणमा संलग्न बमलाई नियन्त्रणमा लिएको छ। सुरक्षाको अवस्था असहज भएपछि डा. अलीलाई प्रहरीको सहयोगमा अस्पतालबाट बाहिर पठाउने तयारी गरिएको पलाँता गाउँपालिकाका स्वास्थ्य संयोजक धनप्रसाद न्यौपानेले जानकारी दिनुभएको छ।घटनापछि पलाँता अस्पतालमा स्वास्थ्यकर्मीको सुरक्षामाथि गम्भीर प्रश्न उठेको छ।

Facebook Comments Box