श्रमदानमार्फत नागी–राम्चे सडक मर्मत
म्याग्दी, २७ भदौ – अन्नपूर्ण गाउँपालिका–८ राम्चेका बासिन्दाले श्रमदानमार्फत अवरुद्ध सडक मर्मत गरी यातायात सञ्चालनमा ल्याएका छन्। गत असारको तेस्रो साता पहिरोले भत्काएको नागी–राम्चे सडकको थावनगाउँ नजिकैको छहरे खण्ड स्थानीयवासीले बिहीबार करिब ७५ जनाले श्रमदान गरेर खुलाएका हुन्।
राम्चेवासी फसबहादुर गर्बुजाका अनुसार करिब दुई महिनादेखि सडक अवरुद्ध हुँदा आवतजावत र आलुलगायत कृषि उपज बजार पु¥याउन कठिनाइ भएको थियो। “सरकारी निकायको भर पर्न ढिलाइ हुने भएकाले सबै घरबाट एक–एक जनाले श्रमदान गरेर सडक खुलाएका हौँ,” उहाँले बताउनुभयो।
पहिरोले भासिएको करिब सात मिटर सडक खण्डमा जगदेखि नै पर्खाल निर्माण गरेर जिप, ट्याक्टर र मोटरसाइकल आवतजावत गर्न मिल्ने व्यवस्था गरिएको छ। सदरमुकाम बेनी पुग्न राम्चेवासीले नागी–लेकफाँट–मल्लाज–बेनी सडक प्रयोग गर्ने गरेका छन्, किनकि अन्नपूर्ण–७ महभिरदेखि हिस्तान–काफलडाँडा हुँदै राम्चे जोड्ने बाटो जोखिमयुक्त छ।
राम्चे आलुको पकेट क्षेत्र भएकाले सडक अवरुद्ध हुँदा उपज बजार पठाउन समस्या भएको थियो। त्यस्तै, वडा कार्यालय, स्वास्थ्यचौकी र हिमाञ्चल माविमा अध्ययनरत विद्यार्थीलाई आवतजावत गर्न कठिनाइ परेको थियो। सडक खुलेसँगै ती सबैलाई सहज भएको छ।

