‘हेलो सरकार’मा गुनासाको चाप बढ्यो, एकीकृत सेवा व्यवस्थापन प्रणाली ल्याइँदै
काठमाडौँ, २० साउन – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘हेलो सरकार’लाई स्तरोन्नति गर्दै नागरिक गुनासो तथा एकीकृत सेवा व्यवस्थापन प्रणालीका रूपमा विस्तार गर्ने तयारी गरेको छ। नयाँ प्रणालीमार्फत फोन, वेबसाइट, फेसबुक, ह्वाट्सएप, इन्स्टाग्राम, इमेललगायत विभिन्न माध्यमबाट प्राप्त गुनासोलाई एउटै पोर्टलमार्फत व्यवस्थापन गरिनेछ। सेवाग्राहीले सम्बन्धित कार्यालयमा सिधै गुनासो दर्ता गर्न, त्यसको प्रगति अनुगमन गर्न तथा समाधानको जानकारी एउटै प्रणालीबाट प्राप्त गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।
यसैगरी, टोल–फ्री नम्बर ११११ मा आएको गुनासोलाई विषयअनुसार सम्बन्धित मन्त्रालय वा निकायको कल सेन्टरमा सिधै पठाउने व्यवस्था पनि गरिने तयारी छ। अत्यावश्यक गुनासा २४ घण्टाभित्र, अति जरुरी तीन दिनभित्र, जरुरी सात दिनभित्र र सामान्य गुनासा १५ दिनभित्र सम्बोधन गर्ने समयसीमा प्रस्ताव गरिएको छ।
यसबीच, ‘हेलो सरकार’मा गत आर्थिक वर्ष २०८२/८३ मा गुनासोको सङ्ख्या अघिल्लो वर्षको तुलनामा ३२१ प्रतिशतले बढेको छ। आर्थिक वर्ष २०८१/८२ मा १६ हजार ५ सय ६८ गुनासा दर्ता भएकामा गत आर्थिक वर्ष यो सङ्ख्या बढेर ६९ हजार ७ सय २४ पुगेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार पछिल्ला तीन महिनामा मात्रै ५० हजारभन्दा बढी गुनासा दर्ता भएका छन्, जसमध्ये करिब ३९ हजार गुनासाको समाधान भइसकेको छ। चालु आर्थिक वर्षको साउन १ देखि १८ गतेसम्म मात्रै ९ हजार ६ सय १० गुनासा प्राप्त भएकामध्ये ६ हजार ६ सय १ वटा गुनासा फर्छ्योट भइसकेका छन्।

