निर्वाचन ६७ दिन बाँकीः एक करोड ८९ लाख मतदाताले छान्नेछन् प्रतिनिधिसभा सदस्य

काठमाडौँ, १३ पुस – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक करोड ८९ लाख तीन हजार ६८९ मतदाताले मतदान गर्ने भएका छन्। निर्वाचन आयोगले अन्तिम मतदाता नामावली प्रकाशन गर्दै उक्त विवरण सार्वजनिक गरेको हो।

अन्तिम मतदाता नामावलीअनुसार ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र अन्य दुई सय मतदाता समावेश छन्। आयोगले सम्बन्धित मतदाताले आफ्नो नाम सहज रूपमा जाँच गर्न सकून् भनी अन्तिम मतदाता नामावली आयोगको वेबसाइटमा पनि प्रकाशन गरेको छ।

मतदाता नामावली ऐन, २०७३ को दफा २० बमोजिम आयोगले शनिबार अन्तिम मतदाता नामावली प्रकाशन गर्ने निर्णय गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो। आयोगका अनुसार आगामी फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने नागरिकको विवरणलाई समेत अद्यावधिक गरी अन्तिम नामावली तयार गरिएको हो।

विसं २०७९ मा सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा पुरुष ९१ लाख ४० हजार ८०६, महिला ८८ लाख ४७ हजार ५७९ र अन्य एक सय ८५ गरी कुल मतदाता संख्या एक करोड ७९ लाख ८८ हजार ५७० रहेको थियो। त्यसको तुलनामा विसं २०८२ मा कुल मतदाता संख्या नौ लाख १५ हजार ११९ ले वृद्धि भएको छ।

आयोगका अनुसार पुरुष मतदाता पाँच लाख २२ हजार ५५२, महिला मतदाता तीन लाख ९२ हजार ५५२ र अन्य मतदाता १५ ले बढेका छन्। अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदातालाई मतदान गर्न देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र तोकिएको छ। यो संख्या विसं २०७९ को निर्वाचनको तुलनामा मतदानस्थल ७५ र मतदान केन्द्र ८ सय ८५ ले बढी हो।

Facebook Comments Box