काँकडभिट्टाबाट एक वर्षमा साढे २४ अर्ब रुपैयाँभन्दा बढीको पेट्रोलियम पदार्थ आयात
झापा, १७ साउन – काँकडभिट्टा नाकाबाट गत आर्थिक वर्षमा २४ अर्ब ५० करोड ६७ लाख रुपैयाँभन्दा बढी मूल्यको पेट्रोलियम पदार्थ आयात भएको छ। काँकडभिट्टा भन्सार कार्यालयका अनुसार उक्त अवधिमा पेट्रोल, डिजेल र एलपी ग्यास आयात गरिएको हो। सबैभन्दा बढी १२ अर्ब १८ करोड रुपैयाँभन्दा बढीको पेट्रोल आयात भएको छ भने ९ अर्ब ५५ करोड रुपैयाँभन्दा बढीको डिजेल र २ अर्ब ७७ करोड रुपैयाँभन्दा बढीको एलपी ग्यास आयात भएको छ।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा काँकडभिट्टाबाट ८ अर्ब ९२ करोड रुपैयाँभन्दा बढीको पेट्रोल र ७ अर्ब ३ करोड रुपैयाँभन्दा बढीको डिजेल आयात भएको थियो। भन्सार कार्यालयका प्रमुख शिवलाल न्यौपानेका अनुसार पेट्रोलियम पदार्थ आयातबाट गत आर्थिक वर्षमा पेट्रोलबाट ५ अर्ब ८५ करोड रुपैयाँभन्दा बढी र डिजेलबाट २ अर्ब ९३ करोड रुपैयाँभन्दा बढी राजस्व सङ्कलन भएको छ।

