सिराहाको गोलबजारमा कर्फ्यु खुकुलो, बिहान १० बजेदेखि साँझ ७ बजेसम्म आवतजावत खुला

सिरहा, १७ साउन  – जिल्ला प्रशासन कार्यालय सिराहाले गोलबजार क्षेत्रमा जारी कर्फ्यु आदेश आज बिहान १० बजेदेखि साँझ ७ बजेसम्मका लागि खुकुलो बनाएको छ। प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा जारी सूचनाअनुसार पछिल्लो सुरक्षा अवस्थाको समीक्षा गर्दै दिनको समयमा आवतजावतमा सहजीकरण गर्ने निर्णय गरिएको हो।

प्रशासनले स्थानीय परिस्थितिको थप मूल्याङ्कनपछि कर्फ्युलाई थप खुकुलो बनाउने वा पुनः कडाइ गर्नेबारे आवश्यक निर्णय गरिने जनाएको छ। साथै, कर्फ्यु खुकुलो भएको अवधिमा पनि पाँच जनाभन्दा बढी व्यक्ति एकै स्थानमा भेला नहुन आग्रह गरिएको छ। यस अवधिमा गोलबजार क्षेत्रमा सवारीसाधन सञ्चालनमा पनि सहजीकरण गरिने प्रशासनले जनाएको छ।

सुनसरी घटनापछि उत्पन्न तनावका कारण गोलबजार क्षेत्रमा केही दिनदेखि कर्फ्यु आदेश लागू गरिएको थियो। पछिल्लो सुरक्षा अवस्था सामान्य बन्दै गएपछि प्रशासनले दिनको समयमा कर्फ्यु खुकुलो बनाएको जनाएको छ।

Facebook Comments Box