गोठाटारमा भीषण आगलागी, १४ वटा पसलमा क्षति

काठमाडौँ, १७ साउन – काठमाडौँको गोकर्णेश्वर नगरपालिका–५ गोठाटारस्थित पहेँलो पुल नजिक रहेको काठको गोदाम र व्यापारिक सटरहरूमा गएराति भएको भीषण आगलागीबाट १४ वटा पसलमा क्षति पुगेको छ। प्रहरीका अनुसार राति करिब ९ बजेर १५ मिनेटमा विद्युत् सर्ट भएर सुरु भएको आगो झण्डै दुई घण्टापछि राति ११ बजे पूर्ण रूपमा नियन्त्रणमा आएको थियो।

आगलागी नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीसहित १७५ जना सुरक्षाकर्मी परिचालन गरिएको थियो। आगो निभाउन ९ वटा दमकल र ३ वटा पानी ट्याङ्कर प्रयोग गरिएको प्रहरीले जनाएको छ। आगो निभाउने क्रममा कागेश्वरी मनोहरा–९ का ३७ वर्षीय नरेश थापा घाइते भएका छन्। टहराको जस्तापाताबाट खसेर घाइते भएका उनको प्रारम्भिक उपचारपछि थप उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर पठाइएको छ। प्रहरीका अनुसार उहाँको अवस्था मध्यम छ।

आगलागीबाट काठ उद्योग, फर्निचर, अटो रिकन्डिसन, मोबाइल, हार्डवेयर, मिठाई, चिया, किराना, कस्मेटिक, स्टेशनरीलगायत १४ वटा व्यवसाय सञ्चालन भएका सटरमा क्षति पुगेको छ। घटनाबाट भएको आर्थिक क्षतिको यकिन विवरण मुचुल्का सङ्कलनपछि सार्वजनिक गरिने प्रहरीले जनाएको छ।

Facebook Comments Box