नेपालीका लागि अमेरिकी पर्यटक र व्यावसायिक भिसामा ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने व्यवस्था

काठमाडौँ,  १७ साउन – नेपालसहित ५० देशका नागरिकका लागि अमेरिकी पर्यटक तथा व्यावसायिक भिसा आवेदनमा धरौटी राख्नुपर्ने व्यवस्था स्थायी रूपमा लागू गरिएको छ। अमेरिकी विदेश मन्त्रालयले ‘भिसा बन्ड’ कार्यक्रमलाई स्थायी बनाउँदै बी–१ (व्यावसायिक) र बी–२ (पर्यटक) भिसाका केही आवेदकबाट १० हजारदेखि अधिकतम २० हजार अमेरिकी डलरसम्म धरौटी लिन सकिने व्यवस्था गरेको हो। अधिकतम धरौटी रकम नेपाली मुद्रामा करिब ३० लाख रुपैयाँभन्दा बढी बराबर हुन्छ।

नयाँ व्यवस्थाअनुसार भिसा अन्तर्वार्तापछि कन्सुलर अधिकारीले आवश्यक ठानेमा धरौटी राख्न निर्देशन दिन सक्नेछन्। भिसा स्वीकृत भएर अमेरिका पुगेपछि निर्धारित अवधिभित्र स्वदेश फर्किएमा वा भिसा जारी नभएमा उक्त रकम फिर्ता गरिनेछ। तर भिसाको अवधि नाघेर बसेमा धरौटी रकम जफत हुन सक्ने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।

अमेरिकी सरकारले भिसाको म्याद सकिएपछि पनि गैरकानुनी रूपमा बस्ने अर्थात् ‘ओभरस्टे’ गर्ने प्रवृत्ति नियन्त्रण गर्न यो नीति लागू गरिएको जनाएको छ। यसअघि परीक्षणका रूपमा सञ्चालन गरिएको कार्यक्रमलाई प्रभावकारी ठहर गर्दै अब स्थायी बनाइएको हो। यो व्यवस्था नेपालसहित ५० देशका नागरिकमा लागू हुने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ भने आवश्यकताअनुसार भविष्यमा थप देश समावेश गर्न सकिने उल्लेख गरिएको छ।

Facebook Comments Box