सप्तरीमा कर्फ्यु चार घण्टाका लागि खुकुलो, बिहान ७ देखि ११ बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने

सप्तरी, १७ साउन – सप्तरी जिल्ला प्रशासन कार्यालय राजविराजले अत्यावश्यक दैनिक उपभोग्य सामग्री खरिदका लागि आज बिहान ७ बजेदेखि ११ बजेसम्म कर्फ्यु आदेश खुकुलो बनाएको छ। प्रशासनका अनुसार तोकिएको अवधिमा सर्वसाधारणले दैनिक आवश्यक सामग्री खरिद–बिक्री गर्न पाउनेछन्। साथै, कार्यालयको अनुमति लिएर सद्भाव र्‍याली सञ्चालन गर्न पनि सो अवधिमा कर्फ्युमा आंशिक सहुलियत दिइएको छ।

प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले तोकिएको समयपछि कर्फ्यु आदेश पूर्ण रूपमा लागू हुने भएकाले सबैलाई त्यसको पालना गर्न आग्रह गर्नुभएको छ। प्रशासनले कर्फ्यु खुकुलो गरिएको अवधिमा पनि हुलदङ्गा, अशान्ति वा अन्य उद्देश्यले पाँच जनाभन्दा बढी व्यक्ति एकै ठाउँमा भेला भई उच्छृङ्खल गतिविधि गरे वा गराएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी दिएको छ। सप्तरीको बोदेबरसाइन क्षेत्रमा गत साउन १४ गते राति १० बजेदेखि र राजविराज क्षेत्रमा साउन १५ गते बिहान ८ बजेदेखि कर्फ्यु आदेश लागू गरिएको थियो।

Facebook Comments Box