पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
काठमाडौँ, १७ साउन — अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ। नेपाल प्रहरीले आइतबार बिहान ६ बजेसम्मको विवरण सार्वजनिक गर्दै केही सडक पूर्ण रूपमा अवरुद्ध भएका तथा केही सडकमा रातिको समयमा सवारीसाधन सञ्चालनमा प्रतिबन्ध लगाइएको जनाएको छ।
काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्ग अन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। त्यसैगरी, कान्तिलोकपथ मा पनि बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा प्रतिबन्ध लगाइएको छ।
इलाम नगरपालिका–९ स्थित मेची राजमार्ग मा वर्षाका कारण सडक हिलाम्मे भएपछि सवारी आवागमन पूर्ण रूपमा बन्द भएको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित अरनिको राजमार्ग को जिरोकिलो र कोदारी क्षेत्रमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
दोलखाको तामाकोशी गाउँपालिका–५ किर्नेटारस्थित लामासाँघु–रामेछाप सडकखण्ड मा सामाकोशी खोलाको बहावले सडक कटान गरेपछि उक्त सडक पनि अवरुद्ध भएको छ। रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेस्थित पासाङ ल्हामु राजमार्ग मा त्रिशूली नदीले सडक कटान गरेकाले त्यहाँ पनि सवारी आवागमन पूर्ण रूपमा बन्द भएको छ।
यसैगरी, गोरखाको धार्चे गाउँपालिका–३ अन्डरडाँडामा पहिरो खसेपछि लार्के–बेनीघाट कच्ची सडक पनि पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। नेपाल प्रहरीले वर्षायाममा पहिरो, बाढी तथा सडक कटानको जोखिम उच्च रहेकाले यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको पछिल्लो अवस्थाबारे जानकारी लिन र आवश्यक सतर्कता अपनाउन सबै यात्रुलाई आग्रह गरेको छ।

