सेनाद्वारा ३२ सडक आयोजना सम्पन्न, १,४११ किलोमिटरभन्दा बढी सडक निर्माण

काठमाडौँ, १७ साउन – नेपाली सेनाले हालसम्म देशका विभिन्न दुर्गम तथा जटिल भूभागमा ३२ वटा सडक आयोजना सम्पन्न गर्दै एक हजार चार सय ११ दशमलव ५४ किलोमिटर सडक निर्माण गरेको जनाएको छ। सेनाका अनुसार कान्ति लोकमार्ग, कर्णाली राजमार्ग, जाजरकोट–डोल्पा, बेँसीसहर–चामे, कालीगण्डकी करिडोर र कर्णाली करिडोरलगायतका महत्वपूर्ण सडक आयोजना सम्पन्न भइसकेका छन्।

सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले सीमित स्रोतसाधन, कठिन भू–बनोट र प्रतिकूल मौसमका बाबजुद राष्ट्रिय गौरव तथा प्राथमिकताका सडक आयोजनाहरू निर्धारित समयमै सम्पन्न गर्दै वार्षिक लक्ष्य शतप्रतिशत हासिल गरिएको बताउनुभएको छ। हाल नेपाली सेनाले कर्णाली करिडोर, दार्चुला–टिङ्कर तथा बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक आयोजना निर्माण गरिरहेको छ। कर्णाली करिडोरमा हालसम्म ८६ दशमलव १७ प्रतिशत भौतिक प्रगति हासिल भएको सेनाले जनाएको छ।

पूर्वी नेपालको रणनीतिक महत्वको खाँदबारी–किमाथाङ्का सडकको १० दशमलव ५१ किलोमिटर खण्ड निर्माण सम्पन्न गरी सडक विभागलाई हस्तान्तरण गरिएको छ भने दार्चुला–टिङ्कर र बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक आयोजनामा पनि निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको सेनाले जनाएको छ। नेपाली सेनाले दुर्गम तथा रणनीतिक महत्वका सडकमार्फत राष्ट्रिय सडक सञ्जाल विस्तार, स्थानीय आर्थिक विकास, पर्यटन प्रवर्द्धन, विपद् व्यवस्थापन तथा राष्ट्रिय सुरक्षालाई थप सुदृढ बनाउन उल्लेखनीय योगदान पुगेको जनाएको छ।

Facebook Comments Box