मनसुनको प्रभाव कायम, केही स्थानमा भारी वर्षाको पूर्वानुमान
काठमाडौँ, १७ साउन — देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।
महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिम नेपालमा सरदर स्थानको आसपास तथा पूर्वी नेपालमा सरदर स्थानभन्दा केही उत्तरतर्फ रहेको छ। सुदूरपश्चिम प्रदेशको तराईमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा सामान्यदेखि पूर्ण बदली छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली क्षेत्रका केही स्थानमा मध्यम वर्षा तथा हिमपात हुने सम्भावना छ भने पहाडी क्षेत्रका धेरै र तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ। विशेषगरी कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भागका धेरै तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा हुन सक्नेछ। मधेस प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका धेरै स्थान र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा पनि मध्यम वर्षाको सम्भावना रहेको छ। महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी तथा तराई भूभाग, मधेस प्रदेश र लुम्बिनी प्रदेशका तराईका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने जनाएको छ।
भारी वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो र भू–क्षयको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। साथै प्रतिकूल मौसमका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले मौसमसम्बन्धी पछिल्ला सूचनाबारे नियमित अद्यावधिक रहन पनि अनुरोध गरिएको छ।

