राष्ट्रियसभाको बैठक आज बस्दै, गृहमन्त्री र शिक्षामन्त्रीले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौँ, १५ साउन – सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज अपराह्न १ः१५ बजे बस्ने भएको छ । बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको जवाफ, ध्यानाकर्षण प्रस्ताव तथा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । सङ्घीय संसद् सचिवालयका अनुसार गृहमन्त्री सुधन गुरुङले गृह मन्त्रालयसँग सम्बन्धित सांसदहरूले उठाएका मौखिक प्रश्नको उत्तर दिनेछन् ।

त्यस्तै, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले पनि आफ्नो मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको जवाफ दिने सम्भावित कार्यसूची रहेको छ । बैठकमा राष्ट्रियसभा सदस्य कमला पन्तले मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीबारे गृहमन्त्रीको ध्यानाकर्षण गराउने प्रस्ताव प्रस्तुत गर्नेछिन् ।

यसैगरी, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले संविधानसभा सदस्य, प्रतिनिधिसभाका पूर्वसदस्य तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति श्रद्धाञ्जलिस्वरूप शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । उता, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि आज अपराह्न २ बजे बस्नेछ।

बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ माथि छलफल हुने कार्यक्रम रहेको छ । उक्त छलफलका लागि विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई समितिको बैठकमा आमन्त्रण गरिएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

Facebook Comments Box